- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
फुङलिङ । मंगलबार राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए ।
शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए । पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए । उनले भने, “चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।” जनजीवन निकै प्रभावित भएको उनले बताए ।
चौँरी र गाईवस्तु हिउँ कम पर्ने अलिक औल झारेको फले निवासी लाक्पा भोटियाले बताए । मंगलबारदेखि अहिलेसम्म निरन्तर हिउँ परेको उनले जानकारी दिए ।
घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्दछ । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ पर्दछ । यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ ।
सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले बताए । ताप्लेजुङ जिल्ला हिउँले सेत्याम्य भएको छ । ताप्लेजुङमा बुधबारको बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।