- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत गएका छन् । अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन उनी बिहीबार बिहान आफैं अदालतमा उपस्थित भएका हुन् ।
गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा दर्ता गराएका थिए । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरुलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।
गत माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरुद्ध आचार्य र न्यौपानेले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेपछि उनीविरुद्ध मुद्दा परेको हो ।
ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालत परिसरमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।