arrow

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र जापानका राजदूतबीच विदाई भेट

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
Ganesh_timsina.jpg

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गरेका छन् ।

राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए ।

करिब एक वर्षदेखि कोरोना भाइरस महामारिका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उनले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गरे । ‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु,’ उनले थपे ।

जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउँदै उनले जापानको सहयोगमा निर्माणसम्पन्न विपि राजमार्ग, निर्माणाधिन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताए ।

‘पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महत्वपूर्ण रहिआएको छ,’ उनले भने ।

त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापानबाट नेपाल आउने पर्यटक, स्वयमसेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताए ।

उनले नेपालको संघीय संसद र जापानको संसदबीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय-समयमा हुने भ्रमण आदान-प्रदानले सम्बन्धलाई प्रगढ हुन सहयोग पुगेको बताए ।

‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ् काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु,’ उनले भने ।

भेटका अवसरमा राजदूत मासामिची साइगो नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए । उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान-प्रदान भइरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ