arrow

प्रचण्ड–नेपालका नेताहरु नागरिकतासहित पेरिसडाँडामा 

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
maoist-head-quarter.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेताहरु नागरिकतासहित पार्टी मुख्यालय पेरिसडाँडामा भेला भएका छन् । निर्वाचन आयोगमा बहुमत दाबीसहित जानका लागि सबै केन्द्रीय कमिटि सदस्यहरुलाई नागरिकतासहित बोलाइएको हो । 

निर्वाचन आयोगले नेकपाको विधानअनुसार आफूहरुलाई आधिकारिकता दिनमा लापरबाही गरेको ठहर गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरु बहुमतसहित निर्वाचन आयोग जान लागेका हुन् । 

प्रचण्ड–नेपाल समूहले करिब ६६ प्रतिशत केन्द्रीय सदस्यहरु आफूतिर रहेको अवस्थामा पनि सूर्यसहितको नेकपाको आधिकारिकता नदिएपछि अब प्रक्रिया नै पूरा गरेर आयोग जाने बताएको हो । 

आयोगले भने आधिकारिकता दिन आलटाल गरिरहेको छ । आयोगको आलटालले नेकपाको प्रचण्ड–नेपाल र ओली समूहबीच औपचारिक फुट नभएजस्तो देखिएको छ । 

गत पुस ५ गते प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ । यो पक्ष जसरी पनि संसद पुनस्र्थापना हुनु पर्ने पक्षमा छ भने ओली समूह चुनाव गराउने पक्षमा छ । 

मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यता निर्वाचन आयोगले भने दुवै पक्षका बैठकलाई मान्यता नदिने बताएर ओलीलाई सूर्य चिन्हसहितको आधिकारिक पार्टी दिने आँकलन भइरहेको छ । 

प्रचण्ड–नेपाल पक्ष भने निर्वाचन आयोगले प्रक्रिया मिच्न नपाउने भन्दै चेतावनी दिइरहेका छन् । 

प्रचण्ड–नेपाल पक्ष चौथो चरणको आन्दोलनमा छ । बिहीबार मानव साङ्लो बनाएर टुँडिखेल घेरेको यो पक्षले शुक्रबार देशैभरका वडाहरुमा विरोध कार्यक्रम गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ