arrow

गृहका सहसचिव र उपसचिवसँग सशस्त्रका ‘ड्राइभर’

पूर्व भिआइपीको सुरक्षाकर्मी फिर्ता, गृह मन्त्रालयमै सुरक्षाकर्मीको दुरुपयोग

गृहका सहसचिव र उपसचिवसँग सशस्त्रका ‘ड्राइभर’

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
home-ministry-nepal.jpg

काठमाडौँ । पूर्व विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ बनाएर पूर्व विशिष्ट व्यक्तिले नियम विपरीत राखेका सुरक्षाकर्मी तान्दै आएको गृह मन्त्रालय आफैँले नियम विपरीत सुरक्षाकर्मीको दुरुपयोग गरिएको पाइएको छ ।

मन्त्रीपरिषद्बाट गृहले प्रस्ताव गरी पठाएको कार्यविधि स्वीकृत भएसँगै गृह मन्त्रालयले पूर्व राजा, पूर्व प्रधानमन्त्री, पूर्व गृह मन्त्री, पूर्व मन्त्री, व्यापारी, उद्योगपति लगायतले राखेका कार्यविधि विपरीत पर्ने सुरक्षाकर्मी धमाधम फिर्ता गरिरहेको छ ।

यसरी कार्यविधि विपरीत राखेका सशस्त्र प्रहरी र नेपाल प्रहरीतर्फका करिब चार सयको सङ्ख्यामा सुरक्षाकर्मी शुक्रवारसम्म गृह मन्त्रालयको निर्देशन अनुसार फिर्ता भइसकेका छन् । तर आफैँले कार्यविधि प्रस्ताव गरेको गृहले आफ्नै कर्मचारीले नियम विपरीत लामो समयदेखि राख्दै आएका सुरक्षाकर्मी भने फिर्ता गरेको छैन ।
 
उच्च स्रोतका अनुसार गृह मन्त्रालयका केही सहसचिव र धेरै उपसचिव स्तरका कर्मचारीले सशस्त्र प्रहरीका २४ जना ड्राइभर विगत पाँच वर्षदेखि राखेको खुलेको हो । केही सहसचिवका लागि गृहले अर्थ मन्त्रालयसँगको सहमतिमा निजामती सेवातर्फबाटै ड्राइभर राख्न सक्ने भए पनि उपसचिवलाई यस्तो सुविधा दिन मिल्दैन । अझै सुरक्षाकर्मीबाट नै माग गरेर राख्न पाइँदैन ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सशस्त्रतर्फका केही सुरक्षाकर्मी सवारी चालकका रूपमा रहेको सुनेको र केही दिनमा नै फिर्ता गर्ने जानकारी दिए ।

‘धेरै अघि देखि नै राख्दै आइरहेको भन्ने सुनेको छु, अब चालक चाहिए आफैँ व्यवस्था गर्नु पर्ने भन्ने छ, के कति राखिएका छन् बुझेर छिटै फिर्ता गर्ने काम हुन्छ,’ गृह प्रवक्ता बुढाले भने ।

सशस्त्र प्रहरीले पछिल्लो समय गण तथा गुल्मबाट विभिन्न उद्योग तथा भन्सारहरूमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा सुरक्षाका लागि नयाँ स्थापना गरिएका बिओपीहरुमा पठाएको छ ।

यसै गरी कार्यविधि विपरीत पूर्व भिआइपीको सुरक्षामा खटिएकालाई समेत सरकारले सीमा सुरक्षाका लागि पठाउँदै आइरहेको छ । ती नयाँ स्थापना भएका कतिपय बिओपीहरुमा सशस्त्रका सवारी चलाउने चालक नै अपुग भएको गुनासोसमेत आउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ