arrow

निर्वाचन तोकिएकै समयमा : प्रमुख आयुक्त

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
dinesh_thapaliya.jpg

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।  शुक्रवार पाँचौँ निर्वाचन दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रमुख निर्वाचन आयुक्त थपलियाले १७ र २७ वैशाखका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तय भएको भन्दै तोकिएकै समयमा निर्वाचन हुने बताएका हुन् ।

सन्देशमा २१ फागुनमा मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरूको निधो गरिने उल्लेख छ । यसै गरी सन्देशमा निर्वाचन सामाग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भनिएको छ भने बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरूको खरिद योजना तयार गरिएको भनिएको छ ।

यस्तै निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि प्रमुख आयुक्त थपलियाद्वारा जारी सन्देशमा भनिएको छ । हाल आयोगले विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरू तयार गरी अगाडि बढिरहेको भनिएको छ ।

निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित नभई विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन् ।

निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आगामी निर्वाचनलाई मितव्ययी बनाउनको निम्ति आयोग सचेत रहेको समेत भनेका छन् ।

‘निर्वाचन कुनै पनि किसिमको शक्ति, स्रोत, साधन र पहुँचबाट प्रभावित हुनुहुँदैन । निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्दछ भन्ने कुरामा निर्वाचन आयोग सधैँ नै अडिग रहेको छ । यस अनुसार प्रत्येक निर्वाचनहरू अलि खर्चिलो र भड्किलो बन्दै गएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस कारण, हामी आउँदो निर्वाचनमा आचारसंहिताको माध्यमबाट निर्वाचनलाई कसरी मितव्ययी, कम खर्चिलो र प्रभावकारी ढङ्गले लान सकिन्छ भन्ने विषयमा सचेत छौँ ।’

उनले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढङ्गले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित सङ्घसंस्था, निकाय, व्यक्ति र विशेष गरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको भनेका छन् ।

निर्वाचन आयोगले २०७३ सालदेखि ७ फागुनलाई हरेक वर्ष निर्वाचन दिवसका रूपमा मनाउँदै आइरहेको छ । आयोगले ७ फागुन २०१५ मा आम निर्वाचनमा मतदाताहरू उल्लेख्य रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै सो दिवस मनाउन सुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ