arrow

'गणतन्त्र विरोधीले नेतृत्व गर्नु भनेको बाँदरलाई मकै बारी हेर्न लगाउनु जस्तो'

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
pradip-poudel-n.jpg

काठमाडौं -नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् । नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् ।

“पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो । केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ,” नेता पौडेलले भने, “बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।”

उनले कांग्रेस संविधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टीकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा कांग्रेस कतै पनि नअल्झिएको जिकिर गरे । नेता थापाले कांग्रेसले सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई कांग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे ।

“म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिद्धान्त कांग्रेसले मान्दछ । अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम कांग्रेसले गरेको हो । त्यसैले कांग्रेसको मान्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्,” उनले भने ।

नेता पौडेलले अदालतले स.विधानको धाराभित्र बसेर फैसला गर्ने भन्दै प्रतिनिधि सभा पुनः स्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए ।

“अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो । अदालतले संविधान संशोधन गर्न मिल्दैन,” पौडेलले भने, “अदालतले संविधानभित्रै शब्दलाई प्रयोग गरेर निर्णय गर्ने हो । त्यस कारण यो असंवैधानिक कदम संसद् पुनः स्थापना पछि सच्चिने छ ।”

उनले गणतन्त्र विरोधीले गणतन्त्रको नेतृत्व गरेका कारण मुलुक संकटमा फसेको पनि टिप्पणी गरे । “गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले नेतृत्व गरेपछि फस्टाउने कुनै भएन,” नेता पौडेलले भने, “यो भनेको बाँदरलाई मकै बारी हेर्न लगाउनु जस्तो हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ