arrow

'टुँडिखेलमा दश अपराधीलाई झुन्डाएर गोली ठोकेको दिन मात्र समस्या न्यूनीकरण'

बलात्कारविरुद्व नेपाल महिला सङ्घको शनिवार शान्ति बाटिकामा विरोध प्रदर्शन

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
mahila-sangh-at-reporters-c.jpg

काठमाडौँ । मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला सङ्घले शान्ति बाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ ।

सङ्घकी अध्यक्ष उमा रेग्मीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भोलि महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् ।

देशमा कम्युनिस्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिवार दिउँसा १ बजे विरोध सभा समेत हुने जानकारी दिइन् ।

सङ्घकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाइन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरू गम्भीर भएको बताइन् ।

‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ, ’अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’ टुँडिखेलमा १० अपराधीलाई झुन्डाएर गोली ठोकेको दिन मात्र अपराधीलाई डर त्रास हुने र समस्या न्यनिकरण हुने बताइन् ।

रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रूपमा दिन पर्ने आवश्यकता औँल्याइन् ।उनले सरकारको आलोचना गर्दै भनिन्, ‘बलात्कार बढी हुने देश भनेर चिनिन नपरोस् ।’

नेपालकै अस्तित्व जोगाउनको निमित्त सबै जना लाग्न जरुरी रहेको बताइन् । निर्मला पन्तको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको बताइन् । महिलाको सुरक्षाको विषय सरकारको प्राथमिकतामा नपरेको उनको आरोप थियो ।

कार्यक्रममा महिला संघका महासचिवहरू मञ्जु खाँड, धना खतिवडा, उपाध्यक्ष सरस्वती अर्याल तिवारी र केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ