arrow

हृदयघातबाट काँग्रेस नेता दाहालको निधन, देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
mitrasen-dahal.JPG

काठमाडौँ ।  नेपाली काँग्रेस ओखलढुङ्गाका नेता मित्र सेन दाहालको निधन भएको छ ।  काँग्रेस ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव रहेका दाहालको शुक्रवार बिहान ९:४५ बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा भएको हो ।

वि.सं. २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको वरुणेश्वर ४ मा जन्मिएका दाहालको हृदयाघातबाट निधन भएको अस्पतालले जनाएको छ ।

दाहाल वि.सं. २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुङ्गा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार थिए ।

दाहालले नेपाली काँग्रेसद्वारा सञ्चालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यथित गरेका थिए ।

दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थाहरूमा संलग्न रहँदै आएका थिए ।

 स्वर्गीय दाहालले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।  

शुक्रवारै अपराह्न ३ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ उनका शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ