arrow

विप्लवलाई सरकारमा लगेर विपक्षी तर्साउँदै ओली

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
KP_B.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा नेत्रविक्रम चन्द विप्लव समूहलाई समेत सहभागी गराउने गरी छलफल अघि बढाएका छन् । आफ्ना विरोधीहरुलाई केही न केही चक्मा दिने उद्धेश्यले उनले विप्लवलाई सरकारमा ल्याउने गरी छलफल थालेका हुन् ।
 
विराटनगरको सभाबाट तीन वटा कार्ड फ्याँकेका ओलीले पहिलो र बलियो कार्ड नै विप्लवलाई आफ्नो नेतृत्वमा रहेको सरकारमा सहभागी गराउने र निर्वाचनलाई पछाडि धकेल्ने उद्धेश्य रहेको ओली निकटका नेताहरुले बताएका छन् । सर्वोच्च अदालतबाट संसद विघटनको पक्षमा फैसला हुने नभए आफूहरु आन्दोलनमा जाने संकेत गरेका ओलीले पूर्व एमालेहरु एक ठाउँमा हुने भन्दै अर्को समूहमा रहेकाहरुलाई आफूतिर आकर्षित गर्ने र भूमिगत रुपमा रहेको विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा समेत सहभागी गराउने गरी विरोधीका लागि कार्ड फ्याँकेका हुन् ।

प्रधानमन्त्री ओलीले विराटनगरको सभामा बोल्दै गर्दा विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति जारी गरेको थियो । शनिबार बिहान प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका गोकुल बाँस्कोटाले शनिबार केही नयाँ हुन्छ भन्ने संकेत गरेका थिए । 

विराटनगरको सभामा ओलीले सम्बोधन गर्नुअघि सुवास नेम्वाङले पनि प्रधानमन्त्री ओलीले केही नयाँ अभिव्यक्ति दिने संकेत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्बोधन भैरहेको बेला विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गरेर आफूहरु वार्तामा बस्न तयार रहेको बताएका थिए । 

त्यसअघि ओलीले विप्लव समूहलाई वार्तामा ल्याइन्छ चुनावमा भाग लिन लगाइन्छ भनेर भाषण गरेका थिए । विप्लव समूहले पनि यसअघि खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, चिरण पुन रहेको वार्ता समिति बनाइसकेको छ । 

प्रधानमन्त्री ओली विराटनगरमा हुँदा नै विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको बताएपछि उत्साहित भएका ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई समेत गाली गर्न भ्याएका थिए । 

कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले आयोगमा गएर सूर्य चिन्ह आफ्नो हो भनी दावी गर्नु केटीकेटीले पुतलीका लागि झगडा गर्नु जस्तै भएको ओलीको टिप्पणी थियो । जुन यसअघि पनि भन्दै आएका थिए । 

ओली सरकारका खानेपानी मन्त्री मणी थापाले विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसँग निरन्तर सम्पर्क गरेर वार्ताको वातावरण बनाइरहेका बेला सरकारले उनीहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । 

यसअघि प्रतिबन्धित समूहमा रहेका विप्लव समूहप्रति निकै आक्रमक हुने ओली अहिले भने सहजै प्रतिबन्ध पmुकुवा गर्ने तयारीमा रहेका छन् । उनले मन्त्रिपरिषदको बैठकबाट प्रतिबन्ध फुकुवा गर्ने सन्देश विप्लव समूहलाई दिएका छन् । 

सोही अनुरुप सो समूहले वार्ताका लागि सकारात्मक रहेको भन्दै विज्ञप्ति जारी गरेको हो । यसअघि सिके राउत समूहलाई पनि मुलधारको राजनीतिमा ल्याएको ओली सरकारले अहिले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याएको जस लिने योजना रहेको छ । 

साथै निर्वाचन घोषण गरिसकेको अवस्थामा निर्वाचनमा पनि सो समूहसँग सहकार्य गरेर अघि बढ्न सकिने ओली समूहको उदेश्यको रहेको छ । ‘यसका दुई वटा कारण रहेका छन् सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेन भने विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा समेत सहभागी गराउने र निर्वाचनलाई पछि धकेल्ने तथा संसद पुनःस्थापना भए संकटकाल लगाएर विप्लव समूहसँग वार्ता भैरहेको बहनाबाजीमा तत्काल सत्ता नछाड्ने उद्धेश्यका साथ नयाँ फण्डा आएको हो,’ स्रोतले भन्यो । स्रोतका अनुसार शनिबार विराटनगरको सभाबाट ओलीले यही सन्देश प्रवाह गर्न खोजेका हुन् ।

विराटनगर पुगेर आफूहरु एक प्रकारको आन्दोलनमा रहेको उनले संकेत गरेका छन् । देशव्यापी रुपमा आमसभा गर्दै हिँडेका नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले विराटनगरको सभामा सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावीसमेत गरेर मुलुक निर्वाचनतिर गइसकेको संकेत गरे ।

 ‘सम्मानित सर्वोच्च अदालतले देशभरी भइरहेका यस्ता सभाहरूलाई हेरेको होला । यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरिरहेको होला । संविधानको मर्म र भावना हेरेको होला । त्यसपछिका परिणतिहरु र मुलुक कता जान्छ भन्ने कुराको विश्लेषण गरेको होला,’ प्रधानमन्त्री ओलीले भने । 

सर्वोच्च अदालतलाई उनले सिधै धम्कीको भाषा प्रयोग नगरे पनि देशभर आफूहरुले गरेको सभा हेर्नु भनेको एक प्रकारको धम्की नै भएको टिप्पणी गरिएको छ ।

प्रधानमन्त्री ओलीले जब जब आफू असजिलोमा पर्छन् त्यतिबेला विभिन्न राजनीतिक कार्डहरु फ्याँक्ने गरेका छन् । सर्वोच्च अदालतलाई आफ्ना विरोधीहरुले धम्क्याएको भन्दै आएका ओलीले शनिवार विराटनगरबाटै अदालतलाई देशभर सभा हेर्न आग्रह गरे । 

त्यतिमात्र होइन उनले संसाद किनबेच हुने, अस्थिरता हुने र मुलुकमा संसदीय विकृति आउने दाबी गर्दै संसद पुनःस्थापना नहुने जिकिर गरेका थिए । उनका यी भनाईबाट ओली कि त गलेको वा ओलीको हुँकार ठूलो भएको आभाष हुन्थ्यो । 

आन्दोलन हुने सम्मको अभिव्यक्तिले सरकारमै रहेको पार्टी आन्दोलनमा भन्ने प्रश्न पनि उठेको छ । प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बताइरहँदा उनले सबैतिर तर्साउन खोजेको आभाष हुन्छ ।

 ‘यदि कहीं कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ’, प्रधानमन्त्री ओलीले भने ।

सोही सभाका ओली समूहमा प्रवेश गरेका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ दम्पत्ति प्रवेशप्रति लक्षित गर्दै प्रचण्ड–नेपाल समूहमा पूर्व एमाले कमजोर हुने संकेत गरेका थिए । 

उनले प्रचण्डमा माया लागेर आएको भन्दै आफूले सिंह जुरो हालिदिएको कारण अब बचाउ गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले ठूलो संख्यामा पूर्व एमालेहरु आफ्नो पार्टीमा रहेको दाबी गरेका छन् । 

आफ्नै सरकारमा रहेका कानुनमन्त्री तामाङलाई रुँदै निकालेका ओलीले फेरि विराटनगर सभाबाट भित्राएका छन् । उनले तामाङ लगायत देशभरका पूर्व एमाले र पूर्व माओवादीका असन्तुष्ट पक्षलाई पार्टीभित्र ल्याउँदै छु भन्ने सन्देश दिन चाहेका छन् । 

तामाङ दम्पत्ति आफनो समूहमा आएपछि उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न भनेका थिए ।

 ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो । तैपनि कोहीकोही अध्यक्ष बनेर हिँडिरहेका छन्’, प्रधानमन्त्री ओलीले भने । 

त्यही क्रममा ओलीले थरमाथि समेत टिप्पणी गर्न भ्याए । प्रचण्डले पहिले वैद्य, त्यसपछि डाक्टर र अहिले झाँक्री लिएर हिँडेको भन्दै थरमाथि व्यंग्य र टिप्पणी गरेका थिए । प्रधानमन्त्रीको हैसियतले गरेको सो टिप्पणी निकै असुहाउँदिलो रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ