arrow

'निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने काम छैन'

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
ISHWORPOKHARELc.jpg

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

 प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, “निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिलकुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।”

कहीँ कतै कोही कोही व्यक्ति, पक्षहरूले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यास्पद रहेको टिप्पणी उनले गरे । उनले थपे, “लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हर कोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरू निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।”

उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।
 
अर्को एक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे ।  सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाब नदिने प्रस्ट पार्दै उनले भने “सरकारले कुनै दबाब दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ