arrow

अस्मिताको हत्यामा श्रीमानलाई १६ वर्षको जेल, घटना लुकाउन शव पठाएका थिए अस्पताल

logo
भरत प्रधान,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
asmita-rajkumar.jpg

बुटवल। आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका रामकुमार श्रेष्ठलाई जिल्ला अदालत नवलपरासीले १६ वर्षको जेल सजाय सुनाएको छ ।

सुनवल नगरपालिका–७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारलाई आफ्नै श्रीमती २१ वर्षीय अस्मिता श्रेष्ठको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत पश्चिम नवलपरासीले १६ वर्षको जेल सजाय सुनाएको हो । सोमबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले हत्या आरोपित रामकुमारलाई १६ वर्षको जेल सजाय सुनाएको जिल्ला सरकारी वकिल कार्यालय नवलपरासीका सूचना अधिकारी सहायक जिल्ला न्यायधिबक्ता गोकर्णराज घिमिरेले जानकारी दिए ।

यसअघि पीडितको पक्षमा जिल्ला न्यायधिबक्ता चन्द्र बहादुर सिंजाली र सहायक जिल्ला न्यायधिबक्ता गोकर्णराज घिमिरेले गरेको बहसका आधारमा अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को ज्यान सम्बन्धी कसुर ठहर गर्दै रामकुमारलाई जन्मकैदको फैसला गरेको थियो । कसुर अन्तर्गत २५ वर्ष जेल सजाय ठहर गरिएको भए पनि अदालतले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १७ (क) बमोजिम १६ वर्षको जेल सजाय फैसला गरेको सहायक जिल्ला न्यायधिबक्ता घिमिरेले बताए ।

रामकुमारले गत कात्तिक २७ गते दिउँसो आफ्नै कोठामा रहेकी अस्मिताको घाँटी थिचेर हत्या गरेका थिए । प्रहरी र अदालत समक्ष रामकुमारले दिएको बयान अनुसार सामान्य भनाभनका क्रममा आफूहरू बिच झगडा भएको र सोही क्रममा आफूले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेका रामकुमारले घटनास्थल पुगेका प्रहरीलाई भने श्रीमतीले झुन्डिएर आत्महत्या गरेको बताएका थिए । रामकुमारका अनुसार घरमा कोही पनि नभएको समयमा अस्मिताले पासो लगाई झुन्डिएको र आफू घर आइपुग्दा झुन्डिएको अवस्थामा देखेपछि डोरी फुकाएर उपचारका लागि अस्पताल पुर्‍याएको बताएका थिए । घटना लुकाउने र सामसुम पार्ने योजना बनाएका रामकुमारले दिदी भेना र दाजुभाउजुको साथमा श्रीमतीलाई अस्पताल पठाएर आफू भने घरमै बसेका थिए ।

उपचारका लागि देव दह मेडिकल कलेज, भलुही पुर्‍याइएकी उनलाई बेहोस भएर ढलेको भन्ने झुटो बाहान बनाएर भर्ना गर्ने प्रयास गरिएको भए पनि त्यहाँ कार्यरत चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । उपचारका लागि परीक्षण गर्ने क्रममा उनको घाँटीमा नीलडाम देखिएको भन्दै चिकित्सकले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य बाहिर आएको थियो । घटनाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर सोधखोज र स्थलगत अनुसन्धान गरेको थियो ।

छोरीको आत्महत्या नभई ज्वाइँ रामकुमारले नै हत्या गरेको भन्दै अस्मिताका बुवा कृष्ण प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा गत मङ्सिर ५ गते जाहेरी दिएका थिए । रामकुमारलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गत मङ्सिर ७ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो । घटनास्थलको अध्ययन, अनुसन्धान र शव परीक्षण रिर्पोटको आधारमा निज रामकुमारलाई केरकार गर्दा श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए । प्रहरी उपरीक्षक केसीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा निज रामकुमारले हत्या अस्वीकार गरेका थिए ।

अनुसन्धानका क्रममा आरोपित रामकुमारको गतिविधि थप शङ्कास्पद देखिएपछि हामीले घटनालाई अत्यन्तै सूक्ष्म ढङ्गले अनुसन्धान गर्‍र्यौै,–प्रहरी उपरीक्षक केसीले भने । घटनाको प्रकृति, मोबाइल कल डिटेल, शवको प्रकृति, शव परीक्षण रिपोट र थप प्रमाणका आधारमा निजलाई केरकार गर्दा हत्या स्वीकार गरेको केसीले बताए ।

गल्याङ– ८, तीन दोबाटेकी अस्मिताको ३ वर्ष अगाडी रामकुमारसङ मागी विवाह भएको थियो । उनीहरूको २ वर्षीय एक छोरा समेत छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका रामकुमार गत असौजमा घर बिदामा आएका थिए । यसैबिच छोरीको हत्या गर्ने ज्वाइँमाथि जिल्ला अदालत नवलपरासीको फैसलाले आफूहरूलाई न्याय मिलेको अस्मिताका बुवा कृष्ण प्रसाद श्रेष्ठले प्रतिक्रिया दिए । पश्चिम नवलपरासी प्रहरीको सहयोग र विशेष सक्रियताले नै छोरीको हत्यारा पत्ता लागेको र यो फैसलाले आफूहरूलाई राहतको अनुभूति भएको पीडित श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ