arrow

प्रचण्ड–नेपाल पक्षसँग मिलेर सरकारमा जाने जसपाको प्रयास

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १२ बुधबार
janata-samajwadi-party.jpg

काठमाडौँ। संसद्को तेस्रो ठुलो दल जनता समाजवादी पार्टी सर्वोच्च अदालतको फैसला पछि उत्साहित भएको छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन्। ती मध्ये दुई जना सांसद हाल निलम्बित भएका छन्।

सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट बुधवार जसपाका शीर्ष नेताहरूले अनौपचारिक छलफल गरेका थिए। छलफलमा ओली सरकार ढले पछि नयाँ बन्ने सरकारमा आफूहरू जान सक्ने निष्कर्ष पार्टीका नेताहरूले निकालेका छन्। जसपाका एक नेता भन्छन्, ‘नेकपा (प्रचण्ड—नेपाल)पक्षसँग मिलेर सरकारमा जाने पहिलो विकल्प हो। यो सम्भावना सबैभन्दा बलियो पनि छ।’ती नेता भन्छन्, अहिले प्रचण्ड—माधव पक्षसँग १सय ५जना सांसद भएको अनुमान गरिएको छ। हामीसँग ३२ जना छन्। १सय ५ र ३२ जना सांसद जोड्दा १सय ३७ सिट पुग्छ,जुन सरकार बनाउन पर्याप्त सङ्ख्या हो।’

प्रचण्ड—नेपाल पक्ष,नेपाली काँग्रेस र जसपा मिलेर संयुक्त सरकार बन्ने दोस्रो विकल्प पनि कायम रहेको उनको विश्लेषण छ। उनको विश्लेषणमा तेस्रो विकल्पमा प्रचण्ड—नेपाल पक्ष र नेपाली काँग्रेस मात्र मिलेर पनि सरकार बन्ने सम्भावना छ। ‘तर यस्तो सरकारले मधेसको मुद्दालाई सम्बोधन गर्न सक्दैन’ती नेता भन्छन्। मधेसलाई समेट्न जसपालाई सरकारमा लैजानु पर्ने बाध्यता प्रचण्ड—नेपाल खेमालाई आउन सक्ने ती नेताको विश्लेषण छ। ‘तर यतीखेर जसपा सरकारमा जाने सम्भावना बलियो छ’ती नेता भन्छन्।

तत्कालीन समाजवादी पार्टी करिब १७ महिना वर्तमान केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो। सत्तारुढ दलसँग खटपट भए पछि तत्कालीन समाजवादीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले राजीनामा गरेका थिए। सरकारबाट बाहिरिनु अघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अपमान गरेका थिए।

त्यस यता प्रधानमन्त्री केपी शर्मा ओलीसँग यादवको सम्बन्ध चिसिएको छ। यादव निकट नेताका अनुसार ओली सरकार ढल्ने निश्चित भए पछि नयाँ बन्ने सरकारमा पार्टी सहभागी हुनु पर्छ भन्ने मत पार्टीभित्र बढ्दै गएको छ। जसपाका नेता केशव झाले भने नयाँ परिस्थितिको बारेमा विभिन्न सम्भावनामा छलफल भइरहेको बताए।

‘अहिले नै सरकारमा जान्छौ भन्ने अवस्था पनि छैन। जान्नौ भन्ने अवस्था पनि छैन। विभिन्न सम्भावनामा छलफल भइरहेको छ’झाले भने। केपी ओलीले गरेको संसद् विघटनविरुद्ध जसपाले गत पुस देखि तीन चरणको आन्दोलन गरेको थियो। संसद् पुनर्स्थापना गर्न बुधवार  सर्वोच्चले गरेको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ