arrow

संसद् पुनर्स्थापनापछि नेकपाको खुसीयाली सभा, गणतन्त्रमाथि कसैले पनि खेलाँची गर्न सक्दैन

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
santibatika-ncp.JPG

काठमाडौँ ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्‍याउँदै पुनर्स्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधवार राजधानीमा खुसीयाली जुलुस निकालेको छ ।

राजधानीको शान्ति वाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको जनाउँदै खुसीयाली साटासाट गरेको थियो । सर्वोच्च अदालतले मङ्गलवार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।

शान्ति वाटिकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रमा गरेका थिए । जुलुसमा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल र जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

“अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाँची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ”, नेतृ भुसालले  भनिन् । विश्वकै उत्कृष्ट समाजवादी नमुना स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने बताउँदै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेतृ भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गरिन् । नेकपाले प्रतिनिधिसभा पुनर्स्थापनाको खुसीयालीमा देशभर जनसभाको आयोजना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ