arrow

'दलहरूसँग छलफल गरेर मात्र ओलीको राजीनामा'

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
kp-sharma-oli-pm.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न दलहरूसँग छलफल गरेपछि मात्र राजीनामाको विषय निष्कर्षमा पुग्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् ।

परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनामा बारे विभिन्न दलसँग छलफल मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिए । उनले मुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै 'प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्नुहुन्छ'  भने ।

'२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुपर्‍यो,' उनले भने,'मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रस्ट नपारीकन  जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।'

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए । उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि  एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरूको प्रयास रहेको बताए । एकताको आधार सही विचार, नेतृत्व र  सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ ।

साथै नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । ज्ञवालीले पार्टीले शक्ति पृथकीकरण, लोकतन्त्रका मूल्यमान्यता र विधिको शासनमा विश्वास गर्ने जनाउँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएको उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिने जानकारी दिए । उनले सर्वोच्च अदालतको फैसला सधैँभरि अपेक्षित नहुने र  अवाञ्छित परिमाण नै दिन्छन् भन्ने पनि नरहेको बताए ।

'हाम्रो चिन्ता र नेपाली जनताको चाहना स्थिर सरकार, स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व नै रहेको छ । यी कुरालाई फैसलाले बल पुर्‍याउँछ वा मुलुक भोलिका दिनमा अस्थिरतातर्फ जान्छ भन्ने कुरा पर्खनुपर्दछ', उनले भने । पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने र त्यसबाट आवश्यक सुझाव लिइने तथा नेकपाले देशका विभिन्न ठाउँमा राखेका कार्यक्रमको स्वरूप परिवर्तन गरेर निरन्तरता दिने निर्णय गरिएको जानकारी उनले दिए ।

संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । 'संसद् निर्धारित समयमा नै आह्वान हुने पनि उनले जानकारी दिए ।  'मुलुकमा फेरि राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक र नीतिहीन गठबन्धन बन्छ । त्यसैले पहिले जे कारणले संसदीय व्यवस्थाप्रति  आलोचना र जनतामा वितृष्णा बढ्यो, त्यो स्थिति फेरि नहोस् भन्नाका लागि मुलुकले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसँग छलफल गर्छौँ', उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ