arrow

लयर्स एशोसिएशनले भन्यो- 'हामी सबै न्याय तथा कानुनकर्मीको शिर उँचो बनाएको छ'

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
Supreme-court-judges1.jpg

काठमाडौँ । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनर्स्थापना को फैसलाबाट देशमा लोकतन्त्र दिगो हुने जनाएको छ ।

मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएशनले संवैधानिक इजलासबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र पारम्भतः कानुनी प्रभाव शून्य घोषित गरी संसद् पुनर्स्थापना तथा १३ दिनभित्र अधिवेशन बोलाउने गरी गरेको आदेशले गलत दिशामा मोडिएको संविधान र राजनीतिलाई सही दिशातर्फ उन्मुख गरेको उल्लेख गरेको छ ।

“सर्वोच्चको फैसलाले नेपालमा संविधानवाद, विधिको शासन र लोकतन्त्रको दिगो विकास तथा प्रवर्द्धनमा दूरगामी महत्त्वको योगदान पुगेको छ”, एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन अनाधिकार, गैर संवैधानिक र गैर संसदीय कदम भएको ठहरका साथ एशोसिएशनले तत्कालै आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख छ ।

“यस ऐतिहासिक फैसलाले न्यायपालिकालाई एक पटक पुनः नेपाल र नेपालीको आशाको केन्द्रका रूपमा स्थापित गरेको छ । हामी सबै न्याय तथा कानुनकर्मीको शिर उँचो बनाएको छ । यो कसैको जय वा पराजयको विषय नभई न्याय, विवेक र सत्यको विजय हो”, विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा संविधानको पालना र संरक्षणमा कटिबद्ध हुने विवेक, प्रेरणा र शक्ति प्रदान गरोस् भन्ने समेत एशोसिएशनले शुभकामना दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ