arrow

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
bishal_bhattarai-Nekapa.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेका छन् ।

संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन् ।

उनले भने–‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढि सांसद छन् ।’

साक्षात्कारमा बोल्दै उनले जनताले नेकपालाई झण्ड दुई तिहाई बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरुको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको सुनाए ।

उनले भने,‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो, यसको आभाष पाउनेबित्तिकै उहासँग दुई वटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद् विघटन गर्ने, यो बाहेक उहाँसँग अर्को विकल्प थिएन । उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो ।’

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाइ जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाई छ । सर्वोच्च अदालतले पुष ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरुले सम्मान गर्ने पनि उनले सुनाए । उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जनाए ।

उनले प्रचण्ड र माधव नेपाललाई पनि अहिलेपनि सच्चिने ठाउँ रहेको सुनाए । तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका छन् । उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्विकार गर्नुपर्ने उनले धारणा राखे ।

निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए । उनले भने,‘केही साथीहरु बाहिर जानुभएको छ, उहाँहरु पनि आउनुहुन्छ ।’

एमसीसीको सवालमा प्रधानमन्त्री ओली पक्षमा नै रहेको उनले सुनाए । तर, प्रचण्डले बाहिर विरोध गरेकोजस्तो गर्ने तर एमसीसीको विरोधमा नारा लाग्दा आँफैले रोकेको पनि उनले सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ