arrow

२३ गतेसम्म पर्खिनुस् न संसदले निर्णय गर्छ – पम्फा भुषाल

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
pampha-bhusal1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन फागुन २३ गतेसम्म पर्खन आग्रह गरेकी छिन् । उनले ओलीमा अलिकति पनि नैतिकता भएको भए पहिले नै राजीनामा दिनुपर्ने बताइन् । 

भुषाल भन्छिन्, ‘राजनीतिमा नैतिकता भन्ने हुन्छ । नैतिकता भए केपी ओलीले राजीनामा दिनुपर्दथ्यो । संविधान, विधि विधान र प्रणालीको अवज्ञा गर्नुभएको छ उहाँले ।’ 

प्रधानमन्त्रीले जे पनि बोल्ने र संविधानकै उल्लंघन गरेकाले अब बोलीको कुनै अर्थ नरहेको बताउँदै नेतृ भुषालले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भनिन्, ‘नैतिकता नभएको प्रधानमन्त्री भएकाले उहाँले बोलेका कुराको कुनै अर्थ छैन ।’ 

प्रधानमन्त्री ओलीले राजीनामा दिन्न भनिरहेका अवस्थामा प्रक्रिया अप्ठेरो हुने प्रसङ्गमा उनले २३ गतेपछि संसदले निर्णय गर्ने बताइन् । 

२३ गते भने प्रक्रिया अगाडि नबढ्ने उनको भनाई छ । उनले भनिन्, ‘२३ गते त हाम्रा सांसदहरु बित्नु भएकाले शोक पारित गरेर सकिन्छ होला । त्यसपछि प्रक्रिया अगाडि बढिहाल्छ नि ।’

निर्वाचन आयोगले आफूहरुलाई नसुनेको भन्दै उनले जनताको कर खाएर बस्नेले निर्णय नगरी बस्न नपाइने बताइन् । भनिन्, ‘संवैधानिक निकायमा बसेको मान्छेले जनताले तिरेको कर खाएर कुनै निर्णय नगरी बस्न पाइन्छ ? यति जटिल प्रक्रियाको फैसला सर्वोच्च अदालतले गर्ने अनि निर्वाचन आयोगले कुनै निर्णय दिनुपर्दैन ?’ 

उनले यो सरकार विरुद्ध अविश्वास प्रस्ताव आएपछि अन्य दलहरुसँग मिलेर अगाडि बढ्ने बताइन् । उनले भनिन्, ‘संविधान बन्यो अब दलहरुसँग सहकार्य जरुरी छैन भन्ने लागेको थियो तर पुग्दो रहेनछ फेरि सहकार्य गर्नुपर्ने भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ