arrow

विद्युतीय सवारीको प्रतिस्पर्धामा हाइड्रोजन गाडी, विश्व बजारमा मार्ला बाजी ?

टोयटाले बनायो फ्युल सेल सिस्टम मोडेल

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
hydrogen-car.jpg

काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो कार उत्पादक जापानी कम्पनी “टोयोटा”ले हाइड्रोजन गाडीका लागि “फ्युल सेल सिस्टम” मोडेल विकास गरेको छ ।
सन् २०२१ देखि नै उक्त फ्युल सेल अन्य हाइड्रोजन कार उत्पादक कम्पनीहरूलाई बेच्ने टोयोटाले गत शुक्रवार घोषणा गरेको हो । कार्बन उत्सर्जन शून्यमा झार्न विश्वभर पेट्रोलियम पदार्थको विकल्प तीव्र रूपमा अघि बढी रहेको छ । यस्तोमा विद्युतीय गाडी सँगै हाइड्रोजन गाडीको विकास पनि तीव्र रूपमा हुन थालेको छ ।

के हो हाइड्रोजन गाडी ?
विद्युतीय गाडी झैँ हाइड्रोजन गाडीले पनि वायुमण्डललाई नकारात्मक असर पार्दैन । किनकि यसमा इन्धनका रूपमा हाइड्रोजन ग्यास र वायुमण्डलीय अक्सिजन प्रयोग हुन्छ भने, धुवाँका रूपमा पानीको बाफ निस्कन्छ । सन् २००८ मा सबैभन्दा पहिलो होन्डाले “एफसीएक्स किल्यारिटी” हाइड्रोजन कार सार्वजनिक गरेको थियो । त्यसपछि, सन् २०१४ को नोभेम्बरमा पहिलो पटक जापानी कार उत्पादक टोयोटाले “लास एन्जलस अटो” सोमा “टोयोटा मिराइ” हाइड्रोजन गाडी प्रदर्शन गरेको थियो । हुन्डाइले सन् २०१८ को जनवरीमा “हुन्डाइ नेक्जो”हाइड्रोजन गाडी सार्वजनिक गरेको थियो ।

कसरी काम गर्छ हाइड्रोजन गाडीले ?
विद्युतीय गाडीमा लिथियम आयोन ब्याट्री जस्तै हाइड्रोजन गाडीमा फ्युल सेलको प्रयोग हुन्छ ।  (टोयोटाले हाइड्रोजन कार उत्पादक कम्पनीलाई बेच्नका लागि यही फ्युल सेलको विकास गरेको हो ) फ्युल सेलमा हाइड्रोजन र वायुमण्डलमा भएको अक्सिजनको प्रतिक्रिया भई ऊर्जा उत्पादन हुन्छ, सो ऊर्जाबाटै गाडी चल्छ । हाइड्रोजन ग्यास प्राकृतिक रूपमा नपाइने हुँदा अलगै उत्पादन गरिन्छ ।

पेट्रोल, डिजेल जस्तै हाइड्रोजन पनि गाडीमा भरिन्छ ।  हाइड्रोजन गाडीमा हाइड्रोजन भर्नका लागि पेट्रोल पम्प झैँ हाइड्रोजन स्टेसन हुन्छ । फ्युल सेलमा गाडीको ट्याङ्कीमा भएको हाइड्रोजनसँग प्राकृतिक अक्सिजनको प्रतिक्रिया हुन्छ  र ऊर्जा उत्पन्न हुन्छ ।  डिजेलबाट चल्ने गाडीले कार्बन डाइअक्साइड, कार्बन मनोअक्साइड उत्सर्जन गर्छ ।  तर, हाइड्रोजनबाट चल्ने गाडीले (हाइड्रो र अक्सिजनको प्रतिक्रिया गर्नुहुँदा) पानीको बाफ मात्र उत्सर्जन गर्छ ।

विश्वमा कति छन् हाइड्रोजन कार ?
सन् २०१९ सम्मको तथ्याङ्क अनुसार अमेरिकामा ८ हजार, चीनमा ६ हजार जापान र ३ हजार ६ सय र युरोप भरिमा करिब हजारको सङ्ख्यामा हाइड्रोजन कार रहेका छन् । हाइड्रोजन ग्यास गाडीमा किलोग्रामका आधारमा भरिन्छ । १ किलो हाइड्रोजनले करिब १०० किलोमिटर यात्रा गर्न सकिन्छ । अमेरिकामा अहिले एक किलो हाइड्रोजनको मूल्य १० देखि १६ डलरसम्म पर्छ । हाइड्रोजन उत्पादनका लागि केही चुनौती भए पनि नयाँ प्रविधिको विकास हुँदै जाँदा सन् २०३० सम्म प्रतिकिलो हाइड्रोजनको मूल्य २ डलरमा झर्ने अनुमान छ ।

विश्वभर कति छन् हाइड्रोजन स्टेसन ?
सन् २०१९ को तथ्याङ्क अनुसार विश्वभर ४ सय ७० हाइड्रोजन फ्युलिङ स्टेसन रहेका छन् । जस्तै विश्वकै टेक्नोलोजीको हब मानिने क्यालिफोर्नियामा मा ४३ हाइड्रोजन फ्युलिङ स्टेसन रहेका छन् ।

चुनौती के ?
विश्वको सबैभन्दा ठुलो कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले भने हाइड्रोजन गाडीको भविष्य सफल हुने असम्भव रहेको बताएका छन् । टेस्ला अहिले विश्वकै सबैभन्दा ठुलो विद्युतीय कार निर्माता हो ।  एक वर्षअघि उनले टेस्लाको वार्षिक सम्मेलनमा हाइड्रोजन गाडीको विकास मूर्खता भएको बताएका थिए । हाइड्रोजन गाडीका लागि हाइड्रोजनको उत्पादन नै प्रमुख चुनौतीका रूपमा रहेका छ । सन् २०२० सम्मको तथ्याङ्क हेर्ने हो भने ९० प्रतिशत हाइड्रोजन जीवाश्म इन्धनबाट उत्पादन हुँदै आएको छ ।

हाइड्रोजन उत्पादन, ढुवानी र भण्डारणमा चुनौती, विद्युतीय गाडी भन्दा महँगो, पेट्रोलियम पदार्थभन्दा हाइड्रोजन महँगो एवं उच्च प्रज्वलनशील र वर्तमान स्थितिमा पर्याप्त पूर्वाधार नहुँदा हाइड्रोजन गाडीको बजारले गति लिन सकेको छैन ।

तर, कुनै पनि हानिकारक उत्सर्जन नगर्ने, विद्युतीय कारभन्दा चाँडै हाइड्रोजन भर्न सकिने, लामो दुरीसम्म चल्न सक्ने र निरन्तर मूल्यमा आइरहेको गिरावटले हाइड्रोजन गाडीको भविष्यले चाँडै गति लिने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ