arrow

केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्छन् : महेश वस्नेत 

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
mahesh-basnet.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् । उनले भने,‘जतिसक्दो चाँडो पार्टी फुटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’

साक्षात्कारमा बोल्दै उनले भोलिबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरे । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनले दाबी गरे । उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए ।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए ।

उनले भने,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’

बस्नेतले अहिले दाहाल-नेपाल समूह ‘फ्रन्ट-गियर’ मा नभई ‘ब्याक-गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे । उनले दाहाल-नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे । 

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुँगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समीकरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाई छ ।

२०५२ सालको जस्तो संसदीय विकृति र विसंगति अहिले नदोहोरिने पनि उनले स्पष्ट पारे । उनले नेकपाभन्दा बाहिर सत्ता समीकरण नपुग्ने पनि दाबी गरे । उनले भने,‘सत्ताको खेल आज नेकपाभित्रै छ । योभन्दा बाहिर छैन् ।’

बस्नेतले दाहाल-नेपाल समूहले सत्ता समीकरणको लागि कांग्रेसको साथ खोज्न थालेपछि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाए । उनले भने,‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’

उनले प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको जिकिर गरे । उनले अब ओलीका समकालिन नेतामा अन्तिम राज ओली नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्नेपनि सुनाए । अब नयाँ पुस्ता जबरजस्त ढंगले आउने उनको विश्वास छ । उनले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

उनले अबको केही दिनभित्रै वामदेव गौतमपनि ओली पक्षमै खुल्ने पनि खुलासा गरे । उनले भने,‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ