arrow

पूर्व राष्ट्रपतिको गुनासो- 'चालीस वर्ष अघि हाम्रो घरमा ६० फिटमा पानी आउँथ्यो, अहिले आउँदैन'

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन २० बिहिबार
rambaran-yadhav2.jpg

धनुषा ।  पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले मधेसमा चुरे वनजङ्गलको विनाशले मरुभूमिकरण हुँदै गएको बताएका छन् । जनकपुर साहित्य महोत्सवको उद्घाटनमा पुगेका पूर्व राष्ट्रपति यादवले चुरेसँग मधेसको भाग्य र सिंगो मुलुकको भविष्य जोडिएको भन्दै चिन्ता व्यक्त गरे ।

पूर्व राष्ट्रपति यादवले भने ‘चुरे छँदा ३०-४० वर्षअघि हाम्रो घरमा ६० फिटमा कल गाड्दा पानी आउँथ्यो। अहिले ६० फिटमा आउँदैन ।  साढे ३ सय फिट गाड्दा  मात्र आउँछ। यस्तै अवस्था रहने हो भने ४० वर्षपछि के हुन्छ?’

नेपालको अन्नको भण्डार रहेको मधेसमा चुरे वनजङ्गलको विनाशले मरुभूमि करण हुँदै गएको उनले बताए । उनले भने,' प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिएको कृषि उपजको भविष्य बचाउन सकिएन भने भोलि गएर यो मरुभूमिमा परिणत हुन्छ।’  वनजङ्गलको विनाशपछि पानीको मुहान सुक्दै गएकोमा गम्भीर रूपमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे।

पूर्व राष्ट्रपति यादवले चुरेले वर्षाको पानी रिचार्ज गरेर राख्ने गरेको र अहिले चुरे विनाश हुँदा पानीको सतह तल धसिँदै गरेकाले संरक्षणमा ध्यान नदिए जनजीवन नै ध्वस्त हुने तर्फ सचेत गराए।

 जनकपुरधाम भूमि साहित्य, कला, संस्कृतिको धरोहर रहेको र परापूर्व कालमा ऋषिमुनिले बसेर साहित्य रचना गर्ने जनकपुरको मठमन्दिर, पोखरी र बगैँचाको संरक्षण हुन नसकेकोमा पूर्व राष्ट्रपति यादवले चिन्ता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ