arrow

प्रचण्ड-नेपाल समूहद्वारा ओली र नेम्वाङलाई हटाएको निर्णय संसद सचिवालयमा दर्ता

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
prachanda-madhavs.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ ।

विहीबार उक्त पक्षका नेताहरुको एक टोलीले दलको नेताको हैसियतमा ओलीले गर्ने कुनै पनि कार्यलाई मान्यता नदिन आग्रह गर्दै पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएको हो ।

सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगेको थियो । उनीहरुले बुझाएको पत्रमा प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका हुन् ।

उनीहरुले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको हो । पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताको रूपमा रहन नसक्ने उल्लेख गरेको छ ।

प्रचण्ड-नेपाल समूहको माघ १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई आकस्मिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीर रुपमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।

पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेता देगुरुङले संसदीय दलका नेताको सवाल भएकाले ओलीलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद सचिवालयलाई लिखित जानकारी गराइएको बताए । जानकारी सम्बन्धी पत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ