arrow

ग्रीन सिग्नलको पर्खाइमा बसेका दाहाल नेपालले रेड सिग्नल पाउन सक्ने

नेकपा फुट्नु अघी नै कुनै पनि दिन जुट्न सक्ने कांग्रेसको बुझाई 

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
dahal-nepal1.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मालाई जसरी पनि सरकारबाट हटाउने प्रयास भैरहेका बेला संसदमा अविश्वासको प्रस्ताव कसले लैजाने भन्ने टुंगो अहिलेसम्म लागेको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबैपक्षसँग सहकार्य गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसले अविश्वास प्रसताव लैजाने र प्रचण्ड–नेपाल समूहले त्यसलाई समर्थन गर्ने रणनीति तयार भएपनि कांग्रेसले अहिले नै अविश्वासको प्रस्ताव लैजाने विषयमा ठोस निर्णय लिएको छैन । कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव नलैजाने हो भने प्रचण्ड–नेपाल समूहका लागि प्रधानमन्त्री हटाउन कठिन हुनेछ । 

कांग्रेसका लागि किस्तीमा हालेर लगिएको प्रधानमन्त्रीको प्रस्ताव पनि अलपत्र पर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ । संसद बैठक शुरु हुनु चार दिन अघि बुधबार दाहाल–नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी अविश्वास प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई बनाउने गरी दिइएको प्रस्ताव अप्ठ्यारोमा परेको हो । दाहाल–नेपाल समूहले बुधबार केन्द्रीय कमिटीको बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय दाहाल नेपाल समूहले गरेको हो । त्यही अनुसार कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्रीको अफर आए कांग्रेस पछि नहट्ने बताएका थिए । दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि खुला छलफल गर्ने बताउनु र देउवाले पनि प्रधानमन्त्रीको अफर आए सरकारको नेतृत्व गर्ने बताएपछि दुवै पक्षबीच सरकार गठनमा सहकार्य गर्ने सहमति बनेको बुझाई थियो । तर विहिबार साँझसम्म प्रचण्ड–नेपाल समूहलाई कांग्रेसले कुनै सिग्नल दिएको छैन । कांग्रेसलाई फकाउनका लागि सो समूहका अध्यक्ष माधवकुमार नेपाल नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा गरिरहेको अनशनमा समेत ऐक्यबद्धता जनाएर आएका थिए । उनी त्यहाँ जानुको खास कारण भने कांग्रेसले ओली सरकारलाई हटाउन सहयोग गरोस भन्ने अपेक्षा रहेको थियो । 

कांग्रेसलाई प्रधानमन्त्री अफर गरिरहेका बेला ओली समूहका नेता शंकर पोखरेल र प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भूषालबीच सिंहदरबारमा ४५ मिनेट कुराकानी भएको थियो । सो क्रममा पार्टी एकिकरणलाई जोगाउन दोस्रो पुस्ताका नेताहरुले कस्तो भूमिका निभाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । त्यसअघि दाहाल–नेपाल समूहमा सांसदहरु यज्ञराज सुनुवार, गणेश पहाडी लगायतले भूषाललाई भेटेर पार्टी एकतालाई कायम राख्ने विषयमा छलफल अघि बढाउन आग्रह गरेका थिए । त्यसकै सुइको पाएको कांग्रेसले तत्काल सरकारमा जानु हुँदैन कि भन्ने धारणा बाहिर ल्याउन थालेको दाहाल–नेपाल समूहको आशंका रहेको छ । विहिबार नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि सल्बलाइरहेका बेला ओली समूहका महासचिव विष्णु पौडेल र प्रचण्डका दाहिने हात मानिने जनार्दन शर्माबीच भेटघाट भएको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ