arrow

उपाधिका लागि बार्सिलोनासँग बिल्बाओको भिडन्त

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
bilbao.jpg

काठमाडौं । एथ्लेटिक बिल्बाओ स्पेनिश कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गर्दै बिल्बाओ फाइनलमा पुगेको हो । 

पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बिल्बाओले दोस्रो लेग जितेसँगै समग्रमा ३–२ को जितसहित  फाइनलमा प्रवेश गरेको हो ।

लेभान्तेको मैदानमा भएको दोस्रो लेगमा बिल्बाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगरले एक एक गोल गरे । घरेलु टोलीका रोजरले एक गोल फर्काए ।

लेभान्तेले शुरुआती अग्रता लिएर पनि हार खानु पर्यो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको १ सय १२ औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई जिताएका हुन् । 

उपाधि भिडन्त बार्सिलोनासँग

अब बिल्बाओले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना बुधबार रातिको खेलमा विजयी हुँदै फाइनलमा पुगिसकेको छ ।

बार्सिलोनाले सेभियालाई समग्रमा ३–२ ले हराएर फाइनलमा पुगेको हो । यो खेल पनि नाटकीय नै भएको थियो । पहिलो लेग सेभियाले २–० ले जितेकामा दोस्रो लेग बार्सिलोनाले ३–० ले जित्यो । 

निर्धारित समयसम्म समग्रमा २–२ को बराबरी भएपछि अतिरिक्त समयमा निर्णायक भएको थियो । 

बार्सिलोना र बिल्बाओबीचको फाइनल खेल अप्रिल १७ तारिखमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ