arrow

बुटवलको नहरपुर माविको नयाँ भवन बनाउन भारतद्वारा ४ करोड ४१ लाख सहयोग

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
india-help-school-butwal.jpg

काठमाडौं। रुपन्देही जिल्ला बुटवल वडा नम्बर ११ नहरपुर स्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले सहयोग गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिकाबीच विद्यालयको नयाँ भवन बनाउन सहयोग गर्ने सम्बन्धमा बिहिवार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ को ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत ४ करोड ४१ लाख ७० हजार लागतमा उक्त नयाँ भवनको निर्माण हुने भारतीय दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ । 

सन् १९७१ मा स्थापना भएको यस नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आवद्ध छ । यस विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल ११२७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् । 

सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा साबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातैवटा प्रदेशमा ४४६ वटा परियोजना सम्पन्न गरिसकेको छ । ती मध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश–५ मा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरु विभिन्न चरणमा रहेका छन् । 

भारतले ५ अर्व ८० करोड पुनर्निर्माण अनुदानमा २०७२ सालको विनाशकारी भुकम्पले क्षती पुर्‍याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । यस पुनर्निर्माण कार्यक्रम अन्तर्गत आठ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेण्डर प्रक्रिया अघि बढिरहेको छ ।

निकटको छिमेकी भएको नाताले भारत र नेपालबीच विशिष्ट मित्रता र सहकार्य रहिआएको उल्लेख गर्दै दूतावासले दुवै पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा हातेमालो गर्ने भारत सरकारको अटूट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ