arrow

नेकपा सांसदलाई ‘एसएमएस’ निम्ता : कोही खुल्ने, कोही कतै नजाने

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
kp-prachanda-mask.gif

काठमाडौँ । संसद विघटनपछि विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी भित्र सांसद तान्न एक पक्षले अर्कोलाई धमाधम एसएमएस पठाउन थालेका छन् । 

नेकपाको केपी शर्मा ओली पक्षले शनिवारका लागि पार्टीको संसदीय दलको बैठक बोलाएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले शुक्रवार (आज) नै दलको बैठक बोलाएका छन् । प्रचण्ड-नेपाल पक्षले ओली पक्षमा रहेका सांसदहरूलाई पनि बैठकमा बोलाएका छन् ।

यस्तै ओली पक्षले पनि अर्को समूहका सांसदहरूलाई एसएमएस गरेर बैठकमा डाकेको छ ।  प्रचण्ड-नेपाल समूहमा रहेकी सांसद शशी श्रेष्ठले प्रधानमन्त्री निवासमा बैठक बस्ने भन्ने सूचना एसएमएसमार्फत आएको बताइन् ।  ‘प्रधानमन्त्री निवासमा भोलि उहाँहरूको बैठक रे, एसएमएस आएको रहेछ, हेर्दै छु,’ नेतृ श्रेष्ठले हाम्रा कुरासँग भनिन् ।

नेकपा सांसद लालबाबु पण्डितले आफूलाई दुवै समूहबाट बैठकका लागि एसएमएस आएको जानकारी दिए । तर दुई वटा बैठक बस्दासम्म आफू कतै पनि सहभागी नहुने उनले जानकारी दिए । ‘दुवै तिरबाट एसएमएस  आएको छ, दुई वटा बैठक बस्दासम्म म कतै जान्न,’ पूर्व मन्त्रीसमेत रहेका सांसद पण्डितले भने ।

सर्वोच्च अदालतबाट संसद विघटन बदर भएसँगै २३ फागुनका लागि प्रतिनिधि सभाको बैठक डाकिएको अवस्थामा दुवै पक्षले नेकपाका सांसदहरू तान्न प्रयास गर्दै एकले अर्का पक्षका सांसदहरूलाई समेत एसएमएस गरेका हुन् ।  हाल नेकपाका प्रतिनिधि सभातर्फ १७३ सांसद छन् । दुवै समूहले आआफ्नै पक्षमा सांसदहरू बढी रहेको दाबी गर्दै आइरहेका छन् ।

प्रचण्ड-नेपाल समूहले आफ्नो तर्फ ८७ सांसद खुलेको र थप तीन जनाले समेत खुल्ने आश्वासन दिएको दाबी गरिरहेको छ । सो समूहले ओली पक्षमा ८३ जना मात्रै सांसद रहेको बताउँछ ।

तर, ओली समूहले भने संसद पुनर्स्थापना भएसँर्गै आफ्नो पक्षमा लाग्ने सांसदको सङ्ख्या बढेको दाबी गरेको छ । सो समूहले शनिवारको दलको बैठकबाट को कता भन्ने कित्ता क्ल्यिर हुने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ