arrow

हामीसँग हतियार छैन, हामीले युद्ध होइन एकीकृत जनक्रान्ति गरेको: धर्मेन्द्र बास्तोला

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
dharmendra_bastola1.jpg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘जनताको मत लिने गरौं । हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए ।
उनले अघि भने,‘सबै भन्न संभव छैन् । खास÷खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’

साक्षात्कारमा बोल्दै उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो ? भन्नेबारे पनि थप प्रष्ट्याएका छन् ।

उनले भने,‘राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन् भन्दै आएका थियौं । आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीन÷चार वर्षमा प्रष्ट भएको छ । सरकारले के महशुस गर्यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो ।’

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । उनले भने,‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईं चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ। अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’

उनले गरिब नेपाली जनताको अवस्था अहिलेपनि पनि पहिलेजस्तै रहेको सुनाए । उनले भने,‘गरिब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ । तीन करोड नेपाली जनतामा ६० लाख नेपाली जनता सुकुम्बासी छन् । त्यो ६० लाख नेपाली जनताका छोराछोरी पढ्न पाएका छैनन् । काठमाडौंभित्रपनि हाम्रा जनता यति धेरै पिछडिएका छन् । खासमा दुई करोड जनशक्ति श्रम क्षेत्रमा सहभागिता जनाउने रहेछ । यो स्थिति देशको छ । अनि देश कसरी बन्छ ? दुई तिहाई बुहमत गरेको सरकार, पार्टी छ । तर, स्थिति झगडा गर्नुपर्ने छ । ठोस प्रकारको आर्थिक नीति आवश्यक छ ।’

आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाई छ । उनले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गरे ।

उनले भने,‘सरकारले वार्ता गरौं भन्यो, पछिल्लो चरणमा वार्ताको माध्यमबाट सहमति भयो । हामी निश्कर्षमा पुग्यौं । तीन बुँदे सहमति गरेका छौं । हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ । उहाँहरुले ईमानदारीताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ ।’

तपाईंहरुसँग भएको हतियार कहाँ छ ? भन्ने प्रश्नमा उनले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन् । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन । सशस्त्र विद्रोहको कुरा पनि होइन् । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’

उसो भए तपाईहरुसँग अत्याधुनिक वा आधुनिक हतियार छैन ? त्यही सुतली बम मात्रै हो ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामीसँग हतियार छैन् । हामीले हतियारको कुरा गरेको होइन् । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन् । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’

उनले आफूलाई पटक-पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने,‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडेलाइए टर्चर गरिएको कुरा आएको छ । बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ