arrow

'एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानुनको खाँचो'

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन २४ सोमबार
pradesh-2-program.jpg

जनकपुरधाम । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरूलाई सोमबार साइकल वितरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका १५२० छात्राहरूलाई साइकल वितरण  गरेका हुन् ।

साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए। यसको लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्ने तयारी रहेको  मुख्यमन्त्री राउतले बताए ।

साइकलले महिला सशक्त हुँदैन, उनले भने–तर, सामाजिक रूपान्तरणको लागि सहयोगी हुन्छ । साइकलले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रूपान्तरणको पहिलो खुड्किलाको रूपमा लिनुपर्ने  जानकारी गराए।

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश २ सरकार प्रतिबद्ध रहेको बताए  । मुख्यमन्त्री राउतले प्रदेशका छोरीहरूलाई शिक्षित सबल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको  जानकारी गराए।

महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीति विरुद्धको कानुनलाई सशक्त रूपमा पालना गरेर अघि बढ्नुपर्ने धारणा समेत राखे  ।
एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानुनको खाँचो रहेको मुख्यमन्त्री राउतले बताए । संशोधन गरेर भए पनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुन्ड्याउने कानुनको व्यवस्था हुनुपर्ने उनको तर्क थियो ।

सो कार्यक्रममा एसिड पीडित  धनुषाका आरती साहलाई सम्मान समेत गरिएको थियो । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरूलाई साइकल वितरण गर्न लागिएको छ।
 
यसअघि २०७५-०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरूलाई सो अभियान अन्तर्गत साइकल वितरण गरिएको थियो ।

प्रदेश २ का उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा,  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, महान्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ