arrow

चिनियाँ खोप भित्रिने अझै छैन सुरसार

दुतावासबाट कागजात एवं सूचना प्रक्रिया पछि गर्न भन्दै दबाबजन्य प्रतिक्रिया 

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
Vaccine-sinopharm1.jpg

काठमाडौं । गत माघ १८ मा चीनले नेपाललाई अनुदान स्वरूप ३ लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।माघ २३ मा २ लाख डोज मात्रा थप गर्दै चीनले अनुदान दिने खोपको मात्रा ५ लाख पुर्‍याएको थियो ।

फागुन १७ गते पुनः नेपाल स्थित चिनियाँ दूतावासले थप ३ लाख डोज मात्रा बढाउँदै ८ लाख डोज खोप अनुदान दिने बताएको छ ।चीनले सुरुमा प्रतिबद्धता गरेको एक महिना भन्दा बढी समय बितिसक्दा पनि दर्ता प्रक्रिया अघि बढ्न नसक्दा उक्त खोप नेपाल भित्रिन नसकेको देखिएको छ ।

चिनियाँ खोप कहिले आउँछ भन्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग बुझ्दा दर्ता प्रक्रियामै रहेको जानकारी मिलेको छ । परराष्ट्र मन्त्रालयले समेत खोप दर्ता भए नभएको विषयमा स्पष्ट जानकारी नभएको बताएको छ ।

चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप चीनले नेपाललाई अनुदान स्वरूप दिने भएको हो ।

यो खोपलाई नेपालको औषधि व्यवस्था विभागले फागुन ५ गते आपत्कालीन प्रयोगका लागि मात्र अनुमति दिएको छ । यसबिच परराष्ट्र मन्त्रालयले चिनियाँ खोप नेपालमा दर्ताका लागि आवश्यक कागजात उपलब्ध गराउन भन्दै नेपाल स्थित दूतावासलाई पत्राचार गरेको थियो ।

सो पत्रको जवाफमा चिनियाँ पक्षबाट अहिले तत्काल चिनियाँ खोप प्रयोग गर्न र कागजात एवं सूचना प्रक्रिया पछि गर्न भन्दै दबाबजन्य प्रतिक्रिया आएको थियो । 

चिनियाँ खोपको माग विश्वभर भएको भन्दै तत्काल प्रयोगमा नल्याए नेपाललाई खोप आपूर्तिको अन्तिम सुचीमा राख्ने प्रतिक्रिया चीनले दिएको थियो ।

पूर्ण जानकारी एवं सूचनाबिना नै खोप सञ्चालनमा ल्याउनु भन्ने चिनियाँ प्रतिक्रियाको आलोचना समेत भएको थियो ।
यसले चिनियाँ खोप नेपाल भित्र्याउने प्रक्रियामा खलबल पैदा गरेको देखिन्छ । खोप दर्ता नै नगरी सञ्चालनमा ल्याउन भन्ने चिनियाँ प्रतिक्रिया आलोचनात्मक नै देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले चिनियाँ खोप दर्ता प्रक्रियामै रहेको बताएका छन् । ‘अहिले प्रक्रियामा छ, जानकारीमा रहेको कुरा त्यति नै हो’ उने भने ।परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि दर्ता प्रक्रियाबारे ठ्याक्कै जानकारी नभएको बताएका छन् ।

खोपको प्रभावकारितामै आशंका 
चीनले आफ्नो खोप कति सुरक्षित र प्रभावकारी छ भनेर आधिकारिक जानकारी नै सार्वजनिक गरेको छैन । सर्वसाधारणले थाहा पाउने गरी खोपको प्रभावकारिता एवं परीक्षण तथ्याङ्क सार्वजनिक नगर्दा प्रभावकारितामाथि नै आशंका छ ।

गत डिसेम्बरमा सिनोफार्मले यो खोप ७९ प्रतिशत प्रभावकारी रहेको घोषणा गरेको थियो । यद्यपि तेस्रो चरणको परीक्षण तथ्याङ्क, परीक्षणमा सहभागी संख्या, उनीहरूमा देखिएको असरलगायतका कुनै पनि जानकारी कम्पनीले सार्वजनिक गरेन ।
सिनोफार्मका प्रवक्ताले खोपबारे अन्य जानकारी पछि सार्वजनिक गर्ने प्रतिक्रिया दिएका थिए । 

केही मुलुकहरूले चिनियाँ खोपलाई रोक नै लगाएका छन् । श्रीलंकाले तेस्रो चरणको परीक्षण प्रक्रिया पूरा नगरेको भन्दै सिनोफार्मको खोपलाई अनुमति दिन रोक लगाएको छ ।

नेपाल स्थित दूतावासले नेपाललाई आठ लाख डोज खोप अनुदान स्वरूप उपलब्ध गराउने भने पनि खोप जस्तो संवेदनशील कुरामा नै दबाबको स्थिति सिर्जना गर्दा प्रक्रिया अघि बढ्न नसकेको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ