arrow

एकै घरका पाँच जनाले कर्णालीमा हाम फालेर आत्महत्या गरेको आशङ्का

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
upper-karnali.JPG.jpeg

दैलेख। आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हाम फालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए ।

हाम फालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

उनले भने, “शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हाम फालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।” गोताखोर टोलीबाट उनीहरूको खोजी कार्य थालिएको उनले बताए । 

मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरूको खोजतलास गरेका थिए ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ