arrow

निर्वाचन आयोगको निर्णय

एकता गर्ने भए एमाले र माओवादी केन्द्रलाई फेरी १५ दिन समय दिने

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
uml-moist.jpg

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने वा एक आपसमा गाभिने भएमा १५ दिनभित्रमा आयोगमा निवेदन दिन आग्रह गरेको छ । आयोगको मङ्गलवार बसेको पदाधिकारी बैठकले दुई दल बीच एकीकरण गर्न चाहेमा वा एक आपसमा गाभिन चाहेमा १५ दिन भित्र आयोगमा निवेदन दिन आग्रह गरेको हो ।

आयोगले यसरी आउने भए १५ दिन भित्र नयाँ नाम र निर्वाचन चिन्हसहित आउन नेकपा एमाले र माओवादी केन्द्रलाई भनेको छ ।  आयोगले बैठकको निर्णय दुवै दललाई पठाउने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि दुवै दलबीचमा एकीकरणपछि नेकपा नाम राखिएको भए पनि गत आइतबार सर्वोच्च अदालतले सो नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीको रहेको फैसला गरेको थियो । त्यसपछि एमाले र माओवादीको एकीकरण खारेज भएको थियो ।  तर निर्वाचन आयोगले दुई दलको भने एकतापछि २३ जेठ २०७५ मा केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएको थियो । आयोगको सो निर्णय नै सर्वोच्चले गत आइतबार खारेज गरिदिएको हो ।

आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ