arrow

जसपा संसदीय दल बैठक सकियो : न दलको नेता छान्यो, न विधान पास

सबै दलसँग खुला छलफल गर्ने

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
jasapa2.JPG

काठमाडौँ । सिंहदरबारमा बसेको जनता समाजवादी पार्टीको संसदीय दलको बैठक दलको नेता चयन नगरी सकिएको छ । बैठकले दलको नेता छान्ने र दलको विधान पारित गर्ने भनिए पनि दुवै विषयमा सहमति नभएको हो ।

शुक्रवारको बैठकको मुख्य एजेन्डा नै संसदीय दलको नेता चयन गर्ने भनिएको थियो । तर, दलको नेता सहजै चुनिने अवस्था नभएपछि बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे मात्रै छलफल भएको हो ।

जसपाका सांसद प्रदीप यादवले दलको विधानको मस्यौदामा छलफल भए पनि केही विषय पुनः परिमार्जन गर्नु पर्ने भएकाले परिमार्जन पश्चात् अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए । उनले सत्ता सहकार्यका विषयमा भइरहेको पहलबारेमा भने दलहरूसँग खुला छलफल जारी राख्ने निर्णय भएको बताए ।

‘बैठकमा सत्ता समीकरणबारे पनि कुराकानी भयो र नेताहरूबाट ब्रिफिङ भयो, तर बैठकको मूल मुद्दा सांसदलाई कसरी जोगाउने भन्ने तर्फ केन्द्रित भयो, बैठकले सबै दलसँग खुला छलफल गर्ने निर्णय लिएको छ,’ सांसद यादवले हाम्रा कुरासँग भने ।

हाल जसपाको संसदीय दलको नेतामा महन्थ ठाकुरले दाबी गरिरहेका छन् । १० वैशाख २०७७ मध्यरातमा पार्टी एकता गर्दा भएको भनिएको मौखिक सहमति अनुसार दलको नेतामा राजेन्द्र महतोले समेत अडान राखिरहेका छन् ।

यस्तै उपेन्द्र यादवले समेत आफूलाई दलको नेताको रेसमा अघि सारिरहेका छन् ।  हाल नयाँ सत्ता गठबन्धनमा जसपा निर्णायक शक्तिका रूपमा देखिएको छ । यस कारण पनि जसपा आन्तरिक राजनीतिलाई दह्रो बनाएर सत्ताको यात्रामा तयार हुन अघि बढिरहेको छ ।

बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई प्रधानमन्त्री दिन सकिने भन्दै ‘कार्ड’ देखाएका छन् ।

शुक्रवार (शुक्रवार) समेत जसपा नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्दै छन् । अहिले चार बजे काँग्रेस सभापति देउवासँग जसपाका नेताहरूको भेट हुने कार्यक्रम तय भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ