arrow

महन्थलाई पार्टीभित्रै अवरोध

logo
आकाश शर्मा,
प्रकाशित २०७७ फागुन २९ शनिबार
mahanta-thakur.jpg.jpeg

काठमाडौँ। सम्भावित प्रधानमन्त्रीको चर्चा गरिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीभित्रै अवरोध सिर्जना भएको छ। जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई रोक्न प्रयास गरेका छन्। भट्टराई र यादव ठाकुरलाई प्रधानमन्त्री बन्न नदिने खेलमा जुटेका छन्।

शनिवार जसपाका शीर्ष नेताहरूले माओवादी केन्द्रका नेताहरूसँग भेटवार्ता गरेका थिए। भेट निष्कर्षमा पुगेन तर पनि बैठक पछि उपेन्द्रले सञ्चारकर्मीहरूसँग बोल्दै जसपाले केपी ओलीसँग सहकार्य नगर्ने प्रष्ट पारे। उनले यतीसम्म भने कि, ‘कुन पागल होला केपी ओलीसँग सहकार्य गर्ने ?’

जब कि, त्यसको दुई दिन अघि बिहीबार केपी ओलीले ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि ठाकुरप्रति नरम भएको बताइएको छ। यती हुँदाहुँदै पनि भट्टराई र यादव भने कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्। शुक्रबार बसेको जसपाको संसदीय दलको संयुक्त बैठकमा भट्टराईले जसपा सरकारमा जान नहुने धारणा राखेका थिए। ‘अहिले जसपा सरकारमा जान नहुने धारणा राख्नु भनेको ठाकुरलाई रोक्न खोज्नु हो’ ठाकुर निकट एक नेताले भने।

ठाकुर प्रधानमन्त्री हुनको लागि सबैभन्दा पहिले जसपाले उनलाई संसदीय दलको नेता चयन गर्नुपर्छ तर ठाकुरलाई संसदीय दलको नेता चयन गर्न पार्टीभित्रै अवरोध आउन सक्ने पार्टी स्रोतको भनाइ छ। ठाकुर निकट नेताहरू भने ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव आएमा उनलाई बिना हिचकिचावट संसदीय दलको नेता चयन गर्नुपर्ने सुझाव राखेका छन्। उपेन्द्र निकट स्रोतका अनुसार उनी आफै संसदीय दलको नेता हुन चाहेका छन। यस्तै चाहना राजेन्द्र महतोको पनि छ। पोहर साल तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण भई जनता समाजवादी निर्माण हुँदा नै महतोलाई संसदीय दलको नेता दिने सहमति भएको महतो निकट नेताहरू बत्ताउँछन्।

ठाकुरलाई प्रधानमन्त्री दिन एमाले र नेपाली काँग्रेस सहमत भएमा जसपा भित्रको अवरोधले त्यति ठुलो समस्या नआउने ठाकुर निकट नेताहरू दाबी गर्छन्।  जसपाभित्र ठाकुर प्रष्ट बहुमतमा छन्। पोहर साल झन्डै पार्टी फुटाएका तत्कालीन समाजवादीका सांसदहरू इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, विमल श्रीवास्तव अहिले पनि केपी ओलीसँग मिलेर सरकारमा जानु पर्ने लाइनमा छन्।

पार्टी फुट्ने अवस्था आयो भने पुरानो राजपाबाट उपेन्द्रलाई महेन्द्र यादवले मात्र साथ दिने अवस्था आउने स्रोतको दाबी छ। ठाकुर निकट अर्का एक नेताले दाबी गरे, ‘ठाकुरजीलाई प्रधानमन्त्री हुनबाट भट्टराई र यादवले रोक्न खोजे भने भट्टराई र यादवको पक्षमा बढीमा ६ जना मात्र सांसद हुने छ। बाँकी सबै हाम्रो पक्षमा आउने छन्।’

ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएमा पार्टीभित्र कुनै अवरोध सिर्जना नहुने दाबी गरे। ‘उहाँ (ठाकुर)लाई प्रधानमन्त्री बन्न प्रस्ताव आएमा पार्टीभित्र अवरोध आउँदैन। सबैको सहयोग रहन्छ’ उनले भने।

यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन प्रयास गरिरहेका छन्। यसकोलागि प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरसँग पटक पटक भेट गरेका छन्। जसपाका स्रोतका अनुसार यस बीचमा ठाकुरले एक्लै र सामूहिक रूपमा प्रधानमन्त्रीलाई धेरै पटक भेटेका छन्। यसअघि, ठाकुरले पार्टीलाई समेत थाहा नदिई नयाँ समीकरण बनाउन प्रधानमन्त्री पक्षसँग कार्यदल गठन गरेका छन्। कार्यदलमा ठाकुरले आफू निकट दुई नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई राखेका छन्।

जसपासँग हाल ३४ सांसद छन्। तीमध्ये दुई जना सांसद हरिनारायण रौनियार र रेसम चौधरी निलम्बनमा परेका छन्। एमाले र जसपा मिलेमा नयाँ सरकार बनाउनको लागि पर्याप्त संख्या पुग्छ। त्यसैले प्रधानमन्त्रीले ठाकुरलाई मनाउन प्रयास सुरु गरेका हुन्–स्रोतले भन्यो। जसपा स्रोतका अनुसार जसपाले राख्दै आएको मागमा प्रधानमन्त्री सकारात्मक र लचिलो छन्।

रेसम चौधरीलाई रिहाइ गर्न वातावरण बनाउनु पर्ने, लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने लगायतका मुद्दा जसपाले उठाउँदै आएको छ। जसपा अर्का एक नेताले दाबी गरे ‘प्रधानमन्त्री निकट पक्ष र जसपाबीच बनेको संयुक्त कार्यदलले यतीसम्म गृहकार्य गरेको छ कि, संविधान संशोधनको लागि मस्यौदा समेत तयार गरिएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ