arrow

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै, एमालेमा गएका सांसदको पद गुम्दै 

logo
प्रकाशित २०७७ चैत १ आइतबार
Prachanda-new.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । बैठकमा पार्टीको नाम, आगामी रणनीति, नयाँ सरकार गठनका लागि अन्य दलहरुसँगको समीकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्री र एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका २३ जना नेताहरुलाई कारबाही गर्ने लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । 

यसैबीच माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा गएका नेताहरुको सांसद पद गुम्ने भएको छ । ओलीले २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त गरेसँगै माओवादीको तर्फबाट निर्वाचित सांसदहरुको पद कानुन बमोजिम गुम्ने भएको हो ।

मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतलाई केन्द्रीय सदस्य बनाए लगत्तै उनीहरुको सांसद पद गुम्ने भएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने व्यवस्था छ । सो दफाको उपदफा १ मा कुनै पनि दलको तर्फबाट उम्मेद्वार भइ निर्वाचित संघीय संसद सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेद्वार भइ निर्वाचित भएको हो त्यो दल त्याग गर्न नसक्ने उल्लेख छ ।

यस्तै उपदफा २ मा उपदफा १ बमोजिम कसैले दल त्याग गरे त्यस्तो सदस्यको पद जाने स्पष्ट व्यवस्था छ । 

त्यसैगरी उपदफा २ मा १ बमोजिम निर्वाचनमा प्रतिकुल हुनेगरी कुनै सदस्यले दल त्याग गरे निज निर्वाचित भएको पद दल त्यागेको मितिले रिक्त हुने उल्लेख छ । 

यदि माओवादी केन्द्रका सांसदहरुले पद जोगाउने हो भने ४० प्रतिशत सांसद पुर्याएर एमालेमा प्रवेश वा अर्को पार्टी खोल्न सक्ने व्यवस्था छ ।

यो हैसियतमा बादलहरु पुग्न नसक्ने भएकाले उनीहरुको पद गुम्ने निश्चित छ । माओवादीबाट एमालेमा गएका खानेपानी मन्त्री मणिचन्द्र थापाले त पद भन्दा विचार ठूलो कुरा भएको बताइसकेका छन् । 

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि नयाँ आन्दोलनको आवश्यक भएको भन्दै नेता कार्यकर्तालाई एकीकृत गर्न खोजेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ