arrow

लहान बम विस्फोट प्रकरण : दुई घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

logo
प्रकाशित २०७७ चैत १ आइतबार
siraha-bomb.jpg

काठमाडौँ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोटको घटनामा गम्भीर घाइते दुई जनालाई काठमाडौँ ल्याइँदै छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मालपोत कार्यालयका नायब सुब्बा र एक जना सेवाग्राहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको हो । घटनामा घाइते हुनेको सङ्ख्या आठ पुगेको छ ।

मालपोत कार्यालयको दोस्रो तलामा भएको विस्फोटमा परेका मध्ये नायव सुब्बा शिव कुमार यादवको खुट्टामा चोट छ भने अर्का सेवाग्राही गम्भीर छन् ।

प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार अन्य घाइतेहरूको भने लहान स्थित अस्पतालमा उपचार भइरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले घटनास्थलमा गोइत समूहको तराइ जनतान्त्रिक मोर्चाको पर्चा फेला परेको जानकारी दिए ।

आज मात्रै तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष रामविलास यादवले सो समूह छाडेर शान्तिपूर्ण मार्गमा आउने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

त्यसपछि उक्त समूहले आक्रोश स्वरूप घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष यादवले प्रशासन कार्यालयमा हिंसात्मक गतिविधि छाड्ने भन्दै आजै निवेदन दिएका थिए ।

छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका- १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका- १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक,  भगवानपुर गाउँपालिका- ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका- ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार- ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ