arrow

माओवादी केन्द्रको २४ घण्टे ‘टाइमलाइन’ मन्त्रीले टेरेनन्, कारबाहीको तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १ आइतबार
ucpn-maoist-office.jpg.jpeg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकाहरूले पार्टीले स्पष्टीकरणका लागि दिएको २४ घण्टे म्याद अटेर गरेका छन् । पार्टीबाट मन्त्री बनेर प्रधानमन्त्री केपी ओलीका पक्षमा खुलेका ६ जनालाई माओवादी केन्द्रले शनिवार स्पष्टीकरण सोध्दै सरकारबाट फिर्ता हुन भनेको थियो । 

तर गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिँचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशङ्कर चौधरी र खेलकुद मन्त्री दावा लामाले पार्टीले दिएको २४ घण्टा समय भित्र स्पष्टीकरण दिएका छैनन् भने सरकारबाट समेत फिर्ता भएका छैनन् । 

यी मध्ये मन्त्री खानेपानी मन्त्री थापा र लामा सांसद होइनन् भने गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य हुन् । अन्य मन्त्रीहरू प्रतिनिधि सभाका सांसद हुन् । 

उनीहरूलाई दिएको समय भित्र जवाफ नपठाएपछि माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय समिति बैठकले कारबाही गर्ने तयारी गरेको हो । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कारबाही बारे बैठकमा छलफल भएको तर निर्णय भने नभइसकेको जानकारी दिए । 

बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूलाई तत्काल पार्टीमा फिर्ता बोलाउने र नफर्किएमा साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी थालिएको छ । 

प्रधानमन्त्री ओलीले आफू अध्यक्ष रहेको एमालेमा माओवादी केन्द्रका २२ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । उनीहरूमध्ये सङ्घीय संसद् र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ