- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बेवारिसे शव र हराएका मानिसहरूको लागि बायोमेट्रिक प्रविधि प्रयोग गरेर पहिचान खुलाउन सामाजिक अभियन्ताहरूले आग्रह गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बेवारिसे शवलाई राज्यले मृतकको मुखाकृति फोटोसहितको छुट्टै वेबसाइट बनाएर शवको पहिचान खुलाउन सामाजिक अभियन्ता डा. संगमजंग केसीले आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा. केसीले देशभर रहेका बेवारिसे शवहरूको फोटोसहितको हुलिया बनाएर वेबसाइटमा राख्दा उनका परिवारले वर्षौँ खोज्नुपर्ने समस्याको अन्त्य हुने बताए । डा. केसीले सरकारी अस्पतालमा दुई-तीन दिन राखेर कोही आफन्त नआएमा नगरपालिकालाई दाहसंस्कार गर्न जिम्मा दिनुपर्नेमा जोड दिए । उनले थपे,‘परिवारले आफन्त हराएको भन्दै आजीवन खोज्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
उनका अनुसार सरकारद्वारा गठित तीन सदस्यीय टोलीले तयार पारेको बेवारिसे शव व्यवस्थापन निर्देशिका सरकारले जारी गर्न लागेको छ । उनले भने,‘त्यो मन्त्रीपरिषद्बाट पास गरिनुपर्छ ।’
राम्रो कामको सुरुवात ‘बेवारिसे शवको पहिचान हाम्रो अभियान’ अन्तर्गत पाँच जना अभियन्ताहरूले सरकारलाई शव व्यवस्थापनको माग गर्दै धर्ना दिएको पनि उनले जानकारी दिए । उनले अनशनरत सामाजिक अभियन्ताहरूले चन्दा उठाएर बेवारिसे भई दाहसंस्कार गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे ।
उनले विभिन्न अस्पतालमा र प्रहरी चौकीमा राखिएका हजारौँ बेवारिसे भनिने शवको अभिलेख राख्नुपर्ने पनि बताए । ‘वेबसाइटमार्फत सार्वजनिक गरियोस् ।’ केसीले भने,‘कसैको आफन्त हराएमा वेबसाइटमार्फत सजिलै जानकारी पाउन सहज हुन्छ ।’
उनले अभियन्ताहरू डा. संगमजंग केसी, सुनिल महर्जन, सनिष नापित, पालन राजवंशी, लोहित श्रेष्ठ, बालान कुमार राजवंशीले बेवारिसे शवहरूको व्यवस्थापनको माग गर्दै शान्तिपूर्ण रूपमा पुस २६ गतेदेखि लगातार आज ६४ दिनसम्म धर्ना दिइरहेको बताए । उनले भारतलगायत विभिन्न मुलुकमा बायोमेट्रिक प्रविधिमार्फत ८७ प्रतिशत बेवारिसे शवको पहिचान भएको जिकिर गरे ।
उक्त अभियानअन्तर्गत राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरी २०७४ फागुन ३० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले समेत कार्यान्वयनका लागि निर्णय गरे पनि दुर्भाग्यवश सिफारिस कार्यान्वयन गर्न ढिलाइ हुँदा प्रत्येक ३ जनाले दैनिक फर्केर नआउने व्यक्तिको लागि आजीवन प्रतीक्षा गर्नुपर्ने बताए ।