- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई बालुवाटार नआउने हो भने पेरिसडाँडामा जान सुझाव दिएका छन् ।
उनले चैत ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा आउन सबैलाई आह्वान गर्ने क्रममा आफूले बोलाएको बैठकमा आउन आग्रह गरेका हुन् ।
पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई बालुवाटार नआउने हो भने माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा जान सुझाव दिएका हुन् ।
नेपाल पक्षले एमालेको बैठक पार्टी मुख्यालय धुम्बाराहीमै बस्न आग्रह गर्दै आएको छ । तर ओलीले भने अध्यक्षले जहाँ बोलायो बैठक त्यहीँ हुने भन्दै बालुवाटरमै बैठक बस्ने बताएका हुन् ।
यसबाट नेपाल पक्ष चैत ७ को बैठकमा सहभागी नहुने निश्चित जस्तै भएको छ । गत शुक्रबार मात्रै ओली गुटको केन्द्रीय कमिटी बैठक बसेर महासचिव बाहेकका सबै पदाधिकारीलाई हटाएको थियो ।
नेपाल पक्षले पार्टीको विधानविपरीत निर्वाचित पदाधिकारीलाई हटाउने अधिकार महाधिवेशनलाई बाहेक कसैलाई नदिएको बताएको छ ।
अन्तर्वार्ताका क्रममा ओलीले माधव नेपालहरु भन्दा आफू १० वर्ष अगाडि कम्युनिष्टको सदस्यता लिएको नेता भएको समेत दाबी गरे ।
उनले ‘म बिचरोले के भित्तामा पुर्याउनु थियो उहाँहरु आफै भित्तामा गएर बस्नुभयो’ भन्दै माधव नेपाल पक्ष भित्तामा पुगेको स्पष्ट पारेका हुन् ।
ओलीले नेपाल पक्षलाई अहिलेसम्म सांसदबाट हटाउने बारेमा नसोचेको बताएका छन् । उनले भने, ‘त्यस्तो सोचेको छैन, उहाँहरु सच्चिएर आउनु हुन्छ ।’
उनले अहिलेको सरकार एमाले र माओवादी केन्द्रको बहुमतको सरकार भएको पनि बताए ।
उनले अहिले पनि माओवादी केन्द्रको समर्थन आफूलाई रहेको बताएका छन् ।
तर आइतबार पनि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएका छन् ।
यद्यपि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका कुनै पनि मन्त्री र केन्द्रीय कमिटी सदस्य बनाइएका २३ जना कोही पनि फिर्ता आएका छैनन् ।