arrow

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको डेढ घण्टे भलाकुसारीको संकेत

logo
प्रकाशित २०७७ चैत २ सोमबार
oli-vidya-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार राति भेटेका छन् । करिब डेढ घण्टा दुवैबीच छलफल चलेको हो । 

बेलुकी ७ बजेतिर पुगेका ओली राति ८ः३० बजेतिर निस्केका थिए । बालुवाटारले यो भेटलाई नियमित भनेको छ । 

तर अहिलेसम्म हुँदै आएका नियमित भेटबारे खुलेर केही पनि बताउने गरेको छैन । 

ओलीले यसअघि पटक पटक राष्ट्रपतिलाई भेटेर संसद विघटन गरेका थिए । संसद पुनःस्थापना भएपछि फेरि उनी राष्ट्रपतिलाई पटक पटक भेट्न पुगेका थिए । 

नेकपा एमालेका माधवकुमार नेपाल पक्षका एक नेता भन्छन्, ‘जब ओलीजी शीतलनिवास छिर्नुहुन्छ अनिष्ट हुँदैछ भनेर बुझ्छु ।’

उनले राम्रो नियतका साथ ओली शीतलनिवास कहिले पनि नछिरेको आरोप लगाउँछन् । 

नेकपालाई सर्वोच्च अदालतले टुक्राएर एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामै राखिदिएपछि ओलीले एमालेलाई संगठित बनाउनुको सट्टा नेपाल पक्षका नेताहरुको जिम्मेवारीसमेत खोसेका छन् । 

ओली निकट गुटको केन्द्रीय कमिटी बैठक शुक्रबार बसेर नेपाल पक्षलाई बाहिरै राख्ने प्रयास गरेको हो । यसले एमालेभित्रै पनि ओली अल्पमतमा पर्न थालेका छन् । 

ओलीले राष्ट्रपतिसँग अब कसरी अगाडि बढ्ने भन्ने बारेमा सल्लाह गर्न पुगेको हुन सक्ने आँकलन गरिएको छ । 

संसदमा समेत बिजनेश नदिएर ओलीले संसद बैठक नै तत्कालका लागि स्थगित गर्ने योजनामा पुगेको हुन सक्ने आँकलन पनि गरिएको छ । 

राष्ट्रपति भण्डारीले संसदको यो चालु अधिवेशन अन्त्य गर्न सक्ने आशंकासमेत उब्जिएको छ । 

ओलीले माधव नेपाल पक्षलाई नसमेट्न खोजेपछि अब बाम एकताका लागि नेपाल पक्ष लागेको चर्चा पनि चलेको छ । आइतबार मात्रै एमालेका पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ