arrow

सन्ध्या तिवारीको दलको नाम : जजपा नेपाल

नाम फेर्न निर्वाचन आयोगमा पत्र

logo
प्रकाशित २०७७ चैत २ सोमबार
election-commission-nepal.jpg

काठमाडौँ । सन्ध्या तिवारी अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको नाम फेरेर जनताको जनवाद पार्टी (जजपा) नेपाल कायम गरिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । सो दलको आइतबार बसेको केन्द्रीय समिति बैठकपछि दलको नाम जनताको जनवाद पार्टी (जजपा) नेपाल कायम गरिदिन भन्दै सोमबार आयोगमा निवेदन दर्ता भएको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको दर्ता खारेज गरी माओवादी केन्द्र र एमालेलाई साबिककै दलको रूपमा स्थापित गरेपछि तिवारीलाई दलको नाम फेर्न दबाब परेको थियो । ती दुई दलबीचको एकतापछि दर्ता नम्बर १६० मा तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारी नेतृत्वको दलको नाम फेरेर जनताको जनवाद पार्टी (जजपा) नेपाल दर्ता गरिदिन भन्दै निवेदन दर्ता भएको जानकारी दिए ।

‘आयोगमा दलको नाम फेर्न पत्र आएको छ, पत्र दर्ता भयो, अध्ययन गरेर निर्णय गर्छौ,’ प्रवक्ता श्रेष्ठले भने । तिवारीले नेतृत्व गरेको सो दलको नाम परिवर्तन भए पनि निर्वाचन चिन्ह भने ‘उदाउँदो सूर्य’ नै कायम हुने छ ।

आयोगले सर्वोच्च अदालतको २३ फागुनको फैसलालाई कार्यान्वयन गर्न भन्दै नेकपाको एकीकरण खारेज गरी २५ फागुनमा तिवारी नेतृत्वको दललाई नयाँ नाम छान्न १५ दिनको समय दिएर पत्र पठाएको थियो ।

एमाले र माओवादी केन्द्रबीच २३ जेठ २०७५ मा एकीकरण भएर नेकपा नामको दल कायम भएपछि खाली रहेको नाममा तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ