arrow

मंगलबारको भेटः राष्ट्रपति भण्डारीले किन बोलाइन् सर्वदलीय बैठक ?

logo
प्रकाशित २०७७ चैत २ सोमबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् ।  मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । संसदमा रहेका दलहरुलाई बैठकमा बोलाइएको छ । 

बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । 

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति राष्ट्रपति भण्डारीलाई डेढ घण्टा भेटेर फर्केपछि यो योजना बनेको बुझिन्छ । 

सरकार अप्ठेरोमा पर्दै गएपछि भण्डारीले सर्वदलीय बैठक बोलाएको आँकलनसमेत नेताहरुले गरेका छन् । ओली सरकारले संसद विघटनको सिफारिस गर्दा परामर्श नगरेकी भण्डारीले अहिले आएर दलहरुसँग सर्वदलीय बैठक के विषयमा गर्न थालियो भन्नेबारे पनि चासो बढेको छ । 

केही ‘सफ्ट कर्नर’ अपनाउने क्रममा ओलीले सोमबारमात्रै एमालेको इतर पक्ष (माधवकुमार नेपाल पक्षलाई) भेटेका थिए । यद्यपि त्यो बैठकबाट कुनै निष्कर्ष निस्केन । 

मंगलबारको भेट नेपाली राजनीतिमा कत्तिको शुभ हुने हो त्यो भने हेर्न बाँकी नै छ । 

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार पूर्व प्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु बैठकमा बोलाइएका छन् । 

पूर्व प्रधानमन्त्रीहरु जोडिएसँगै एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनाल पनि समेटिने छन् । जसले गर्दा एउटा सौहार्द वातावरण बन्ने देखिन्छ । अर्कातिर एमालेमा अहिले तिक्तता छ । 

मंगलबार ओलीले बालुवाटारमा एमालेका नेताहरुलाई चियापानमा बोलाएको भए पनि सोमबारको धुम्बाराहीको बैठक त्यति सौहार्द नभएपछि नेपाल पक्षले चियापान बहिस्कार गर्ने बताइसकेको छ । 

त्यो चियापानलाई पूर्ति गर्नका लागि पनि राष्ट्रपतिले बैठक आह्वान गरेर सन्तुलन मिलाउन खोजेको हुन सक्ने विश्लेषण समेत गरिएको छ । 

राष्ट्रपति भण्डारी पछिल्लो समय आलोचित बन्दै आएकी छिन् । उनले प्रधानमन्त्री ओलीको लहलहैमा लागेर संसद विघटन गरेको, संवैधानिक निकायमा भएको नियुक्तिको साक्षी बसेको लगायतका आरोप खेपिरहेकी छिन् । 

एक एमाले नेताले हाम्राकुराको जिज्ञासामा भने, ‘तपाईले धेरै टाढाको कुरा सोच्नुभयो । राष्ट्रपतिज्यू त्यति धेरै सोच्नुहुन्न । उहाँ बंगलादेशतिर लाग्दै हुनुहुन्छ । त्यसअघि नेताहरुलाई चिया–बिस्कुट खुवाउने इच्छा जागेर होला ।’

अर्थात् राष्ट्रपति जस्तो गरिमामय पदले सर्वदलीय बैठक आह्वान गर्दा पनि खासै गम्भीर रुपले लिन नसक्नु दुःखद पक्ष नै हो । 

राष्ट्रपति भण्डारीले बंगलादेश जानकै लागि सोमबारै शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोनाको खोप पनि लगाइसकेकी छिन् । 

उनले खोप लगाउन सबैलाई आह्वान पनि गरेकी छिन् । तर नेपालमा कोरोनाको खोप सकिन लागेको र पहिलो डोज लगाएकाले दोस्रो डोज लगाउन नपाएका बारेमा भने उनी मौन रहिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ