arrow

संसद बैठक : शोक प्रस्ताव पढ्ने उठ्ने

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
parliament.jpg

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक पनि अघिल्लो बैठक जस्तै शोक प्रस्ताव पढेर सकिएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अन्य कुनै बिजनेस नभएपछि शोक प्रस्ताव पढेर अर्को बैठक ६ चैतका लागि तोकेका हुन् ।

आजको बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो भने एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । त्यसपछि बैठक समापन गरिएको थियो । 

स्वर्गीय यादव २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले बैठकको सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरू मनोनयन गरिएको भन्दै उनीहरूको नाम पढेर सुनाएका थिए । 

जसअनुसार सांसदहरू डिला संग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेनुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको हो ।

यसै गरी केही समयअघि कारबाहीमा परेकी सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला मनोनयन गरिएको जानकारी बैठकमार्फत गराइएको थियो । 

यस्तै मृत्यु भएकी सांसद ज्ञानकुमारी छन्त्यालको स्थानमा सुवर्णजुहार चन्द र सूर्यबहादुर केसीको ठाउँमा मोहन प्रसाद पाण्डेलाई नियुक्त गरिएको बारे पत्रसमेत पढेर सुनाइएको थियो ।

प्रतिनिधि सभा पुनःस्थापनापछि यसअघि बसेको बैठकसमेत शोक प्रस्ताव पेश गरेर समापन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ