arrow

ओलीलाई नेपालको जवाफ 'जस्तालाई तस्तै ढीडोलाई निस्तै' झै

ओलीले रोक्न खोजेको भेला रोकेन नेपाल पक्षले

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
oli-madhav.jpg.jpeg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलालाई रोक्न हरसम्भव प्रयास गरेको छ । ओली पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई नरोके वा त्यसमा सहभागी भए कारवाही गर्नेसम्मको चेतावनी समेत दिएको छ । भेलामा वामदेव गौतम र उनी निकटका नेता तथा केन्द्रीय सदस्यहरु समेत सहभागी हुने भएका छन् । गौतम र निकटका नेताहरु समेत सहभागी हुने भएपछि ओली समूहले कारवाही गर्ने चेतावनी दिएको हो । 

महासचिव ईश्वर पोखरेलले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका छन् भने अन्य नेताहरुलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् । महासचिव पोखरेलले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै सो भेलालाई ‘गुटगत’ भेलाको संज्ञा दिएका छन् । 

फागुन २८ गते ओली पक्षले केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षको सबै जिम्मेवारी खोसेपछि त्यसको काउण्टरमा नेपाल पक्षले बुधबार र विहिवार राष्ट्रिय भेलाको आयोजना गरेको हो । भेलामा करिब ३ हजार कार्यकर्ता सहभागी हुने नेता योगेश भट्टराईले बताएका छन् । 

प्रधानमन्त्री ओलीले फागुन २८ गते आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक राखेर नेपाल पक्षका सवै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला राखेर ओलीलाई कडा टक्कर दिन खोजेको छ । फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्ताहरुलाई काठमाडौ बोलाएर राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्न लागेको हो । तर ओलीले मंगलबार विहान वालुवाटारमा चियापानको कार्यक्रम राखेर नेपाल समूहको कार्यकर्ता भेलामा गए कारवाही गर्ने धम्की दिएपछि नेपाल समूहले कारवाहीका लागि लामबद्ध रहेको बताएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ । ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि यो विवाद उत्कर्षमा पुगेको हो । हाल नेपाल पक्षले देशव्यापी रुपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको बेला राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको हो । ‘बुधबारबाट शुरु हुने राष्ट्रिय कार्यकर्ता भेला ३ हजार कार्यकर्ताहरु सहभागी हुदैछन, पार्टी एकता जोगाउन र पार्टीलाई अझ मजबुद बनाउन भेला आयोजना गरिएको हो’, नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने । उनका अनुसार भेलाको सबै तयारी पूरा भइसकेको छ । 

नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेपछि सोमबार बिहान एमालेको पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेता नेपाल दोस्रो तहका नेताहरु साथमा लिएर छलफलमा जुटेपनि ओलीले फागुन २८ गतेको निर्णयबाट पछि नहट्ने बताएपछि सो छलफल विना निष्कर्ष टुंगिएको थियो । फागुन २८ को निर्णय नसच्याउने हो भने चैत ४ र ५ गते राखिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने जनाएका थिए । ओलीलाई नेपालले जस्तालाई तस्तै ढीडोलाई निस्तै खालको जवाफ फर्काएको एक नेपाल पक्षीय नेताले बताए ।

सोमबार ओलीसँग कुराकानी नमिलेपछि मंगलबार विहान ओलीले वालुवाटारमा चियापान कार्यक्रममा नेपाल समूहका कोही पनि नेताहरु सहभागी भएनन् । ओलीले चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नेपाल समूहको भेलामा गए कारवाही गर्ने चेतावनी दिए । त्यसपछि नेपाल समूहले आयोजना गरेका पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराईले आफूहरु कारवाही भोग्न तयार रहेको र कारवाहीका लागि लामबद्ध रहेको बताए।

पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन र भेलाको उद्घाटन गर्न समेत आग्रह गरेका थिए । भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी भएर भेलाको उद्घाटन गर्न आग्रह गरेका थिए । ओलीले भेलामा जानेहरुको नजर लगाइनेछ भनेपछि त्यसको प्रतिउत्तरमा भट्टराईले भेलामा सहभागी हुनेहरुका लागि नजर लगाउन कसैलाई नखटाई आफै आउन भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ