arrow

चिनियाँ खोप लगाएकालाई मात्रै नेपालबाट भिसा आवेदन खुला

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
corona-vaccine-covid.jpg

काठामडौं । चीनले चिनियाँ खोप लगाएका विदेशी नागरिकका लागि भिसा सुविधा खुला गरेको छ । नेपाल स्थित चिनियाँ दूतावासले एक सूचना जारी गर्दै चीन निर्मित कोभिड१९ विरुद्धको खोप लगाएकाहरूलाई भिसा सुविधा प्रदान गर्ने जानकारी दिएको हो ।

तर, नेपालमा कुनै पनि चिनियाँ खोप उपलब्ध नै छैन । चिनियाँ खोपलाई सामान्य रूपमा प्रयोगका लागि स्वीकृति नै नमिलेको अवस्थामा नेपालबाट चीन जान चाहनेहरूले चीन निर्मित खोप किनेर लाउन सक्ने स्थिति देखिँदैन ।

नेपालबाहेक अमेरिका, इटाली, भारत र फिलिपिन्सलगायतका देशहरूमा रहेका चिनियाँ दूतावासले पनि चिनियाँ खोप लगाएका बिदेशीहरुलाई भिसा सुविधा प्रदान गर्ने बताएका छन् । सोमबार फिलिपिन्स स्थित चिनियाँ दूतावासले चिनियाँ खोप लगाएकाहरूलाई भिसा सुविधा प्रदान गर्ने बताएको छ । त्यस्तै भारत स्थित चिनियाँ दूतावासले पनि चिनियाँ खोप लगाएकाहरूलाई भिसा सुविधा प्रदान गर्ने स्पष्ट पारेको छ । 

नेपाल मात्रै नभई भारत, अमेरिकालगायतका अन्य देशमा पनि चिनियाँ खोप उपलब्ध छैन । उसो त परीक्षण एवं उत्पादन  सम्बन्धी जानकारी नै सार्वजनिक नगरेको चिनियाँ खोपको प्रभावकारितामाथि नै प्रश्न छ । तथापि चीनले अत्यावश्यक कामका लागि चीन जान चाहने विद्यार्थी, पर्यटक एवं व्यवसायीका हकमा चिनियाँ खोप नै लगाउनु पर्ने दबाबजन्य नीति लिएको देखिन्छ ।

चीनले आफ्नो खोप अफ्रिका, एसिया र दक्षिण एसियाका विकासोन्मुख देशहरूलाई लक्षित गरेर बिक्री गरिरहेको छ । अमेरिका, अस्ट्रेलिया, जापान र विश्वकै सबैभन्दा ठुलो खोप उत्पादक भारतसँग खोप बजारमा प्रतिस्पर्धा गर्ने किसिमले चीनको खोप निर्यातलाई खोप कूटनीतिका रूपमा समेत हेरिएको छ ।

नेपालबाट चीन जान चाहने कुनै पनि व्यवसायी, पर्यटक र विद्यार्थीले चीन निर्मित खोप लगाएको खण्डमा महामारी पूर्वकै प्रक्रिया अनुरूप भिसाका लागि आवेदन दिन सक्ने नेपाल स्थित चिनियाँ दूतावासले जनाएको छ । तर, नेपालमा चिनियाँ खोप उपलब्ध हुनु टाढाको कुरा औषधि व्यवस्था विभागले प्रयोगका लागि अनुमति समेत दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ