arrow

'महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ'

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
mahantha_thakur.JPG

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखेका छन् । रिपोर्टस् क्लबमा उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताए ।
 
उनले अहिले पार्टीहरू झैझगडामा लागेको टिप्पणी गरे । दलका नेताहरू झैझगडामा उत्रिएकोले देश समस्यामा परेको सुनाए । उनले सबै दलभित्र अहिले आन्तरिक झगडा रहेको दाबी गरे । उनले भने,‘नेकपा एमले भित्र झगडा छ । संसद्मा स्थिरता देखिँदैन । उनीहरू झगडा गरुन् न, हामीले के पायौँ त ? हामीले त नेकपालाई दुई तिहाइ मत दिएका थियौँ । हामीले खोजेको कुरा यही हो त ? एउटा नेता पनि चोखो छैनन् । सबै नेता नाँग्गै छन् । प्रतिपक्षीले पनि काम गर्न सकेँ । नेपालीले केही पाएनन् ।’

डा. दिक्षितले देश अहिले खत्तम अवस्थामा रहेको सुनाए । मुलुकमा रोजगारी नभएकोले लाखौँ युवाहरू बिदेसिन बाध्य भएको सुनाए । उनले भने,‘मुलुकमा रोजगारी छैन । युवाहरू बिदेसिन बाध्य भएका छन् । प्रधानमन्त्रीले चुनावमा जान संसद विघटन गर्नुभयो । तर, सर्वोच्च अदालतले त्यो निर्णय उल्टाइदियो । अहिले संसद चलेको छ । अब के कार्यक्रम लिएर अघि बढ्छ ? त्यो हेर्नुपर्छ ।’

ओलीजीले आफ्नो सरकार निरन्तरता चाहने हो भने विश्वासको मत लिनुपर्छ अवस्था अहिले आएको सुनाउँदै यदि विश्वासको मत लिन ओली असफल भए अर्को सरकार बनाउन प्रयास गर्नुपर्ने उनको भनाई छ । संविधानले तत्काल चुनावमा जान नभनेको पनि उनले उल्लेख गरे ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नेतृत्व लिन लोभ देखायो भने काँग्रेस पनि पुरै नाङ्गिने उनको भविष्यवाणी छ । उनले भने,‘अहिले मुलुकलाई असल प्रधानमन्त्री चाहिएको छ । हामीलाई एकदमै असल प्रधानमन्त्री चाहिएको छ । ठुलो प्रोग्राम चलाउनु छैन । स्थिरता विश्वासका साथ लग्नुपर्छ ।’

उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखे । उनले भने,‘महन्तजी काङ्ग्रेसबाट आएका हुन् । उनमा भ्रष्टाचारको दाग छैन । भारतको नरसिंह रावजस्तै हुन् । सबैलाई मिलाएर लैजाने व्यक्ति हो । प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन । संसद्को झैझगडा हुँदैन । काँग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ ।

जसपाका उपेन्द्र यादव, राजेन्द्र महतो पनि छन् । तर, मुलुकको लागि उपेन्द्र र राजेन्द्र भन्दा ठाकुर नै उपयुक्त हुन्छ । अगर ओलीले मत पाउन सक्नुभएन भने, काँग्रेस यता लाग्नुहुँदैन । ठाकुरले सबै दललाई मिलाएर सरकार बनाउनुपर्छ । चुनावी सरकार हुन्छ । सर्वदलीय सरकार बनाउनुपर्छ । मैले त यही निकास देखेको छु ।’

उनले सांसदले सरकार बनाउने कुरामा पटक्कै विकल्प दिन सकेन भने मुलुक चुनावमा जान सक्ने पनि बताए । तर, तत्काल चुनावमा जाने अवस्था नभएको उनको भनाई छ । उनले नेकपा (एमाले) फुटोस् वा एक होस त्यो आफूहरूलाई मतलबको विषय नभएको पनि टिप्पणी गरे ।

उनले जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना नरहेको पनि दाबी गरे । उनले भने, उहाँ प्रधानमन्त्री बन्ने सम्भावना छैन । काँग्रेस सभापति शेरबहादुर देउवाको के हैसियत छ ? काँग्रेस पनि फुटेको छ । एकता छैन । बरु, काँग्रेस बलियो बनाएर चुनावमा जाओस् । काँग्रेस सरकारमा जानुहुँदैन । अहिले सरकारमा नजाने हो भने उसले अर्को चुनावमा जित्छ । फाइदा उठाउन सक्छ । उसले सरकारमा जान लोभ र लालच गर्नुहुन्न ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ