- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन् । बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले यस्तो बताएका हुन् ।
उनले अहिले मुलुक अन्योलको अवस्थामा रहेको र यसको कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै रहेको टिप्पणी गरेका छन् । उनले भने,‘मूल कारण नेकपा हो । नेकपा जनताबाट जुन विश्वास र आस्थाको आधारमा जुन मत लिएर आयो, तर उसले जनतालाई त्यो आस्था र भरोसा दिन सकेँन । उसको आपसी द्धन्द्धले अन्योल भयो । उहाँहरूले सरकार बनाउनुभयो । तीन वर्ष चलाउनुभयो । सरकार बनेको दिनदेखि संविधान भत्किने काम भयो । प्रतिनिधिसभा विघटन हुनुभन्दा पहिले पनि पनि आधा दर्जन संविधान भत्किने काम भयो । सातौँ पटक त प्रतिनिधिसभा विघटन गर्दा भयो । र, आँठौं पटक आँफै भत्किनुभयो । नेकपाको कारण मुलुकको आज यो अवस्था सिर्जना भयो ।’
उनले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरी धारणा रहेको पनि उल्लेख गरे । उनले भने,‘कांग्रेससले सरकार बनाउन पहल गर्नुपर्छ भनेर विचार उठेको छ । अर्को, कांग्रेस सरकारमा जानै हुन्न भन्ने पनि विचार उठेको छ । हामी प्रतिपक्षी दल हो । हामी त प्रतिपक्षमा पाँच वर्ष बस्न तयार थियौँ । सरकार चलाउनुपर्ने, जनादेश ल्याएको पार्टी, जनताप्रति उत्तरदायी हुन सकेन भने । ठिक सरकार दिन सकेन भने सरकार बनाउनुपर्ने पार्टी असफल भएपछि प्रतिपक्षी दलले सरकार बनाउने हो । सरकार बनाउने कुरामा कांग्रेसले बनाउँछ । आवश्यकता पर्यो भने सरकार बनाउन तयार छ । तर, परिस्थिति परिपक्व हुनुपर्छ । सरकार हाम्रो रहर पनि होइन । चाहना पनि होइन । तर, बाध्यता आयो भने सरकार दिन कांग्रेस तयार छ । परिस्थिति परिपक्व हुनुपर्छ । वातावरण सुनिश्चित हुनुपर्छ । कांग्रेसले हतार गर्दैन । कांग्रेसले परिस्थितिलाई सूक्ष्म रूपमा हेरेको छ । वातावरण सुनिश्चित भयो भने बनाउनुपर्छ ।’
उनले सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाले वैकल्पिक सरकार बनाउनुपर्छ भनेको उल्लेख गर्दै अहिले सरकार बन्ने अवस्था रहेको सुनाए । तर, प्रतिनिधिसभाले सरकार बनाउन सकेन भने प्रकारान्तर मुलुक चुनावमा जानुपर्ने पनि उनले उल्लेख गरे । उनले आफ्नो पार्टी अनिर्णयको बन्दी नबनेको पनि दाबी गरे । तर, आफूहरू परिस्थिति सुनिश्चितताको पखाईमा रहेको लेखकको भनाई छ ।