arrow

'ओलीलाई साधुवाद भन्छु'

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
khagaraj_adhikari.jpg

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरि अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि आग्रह गरेका छन् ।

उनले सरकार बचाउनको लागि आफूहरुले केही पनि नगरेको स्पष्ट पारे । उनले भने,‘हामीले केही पनि गरेको छैन् । होटेलमा लगेर सांसद लगेर थुनेको छैन् । हामी त नीति, निष्ठा र विचारको आधारमा अघि बढेका छौं । विदेशीको लागि कम्फर्टेवल सरकार पनि बनाउने भनेको छैन् । बरु, यो सरकारलाई समर्थन गर्न अपिल गरेका छौं ।’

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले जनाए । उनले पार्टी अध्यक्षले विधानबमोजिम नै फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठक बोलाएको स्पष्ट पारे ।

उनले भने,‘अध्यक्षले बैठक बोलाउने हो । त्यहीअनुसार फागुन २८ गतेको बैठक बोलाउनुभएको हो । अहिले उहाँले चैत्र ७ गतेको लागि बैठक आह्वान गर्नुभएको छ । गुटगत भेला गर्नेलाई कारबाही गर्ने भन्दापनि हामी कसैलाई कारबाही गरेर गौरव गर्नुभन्दापनि विचारमा एकता भएर अघि बढ्न चाहन्छौं । तर, कसैले हातमा जौ, तिल लिएर पार्टी फोड्छु भन्यो भने हामी विधानअनुसार अघि बढ्छौं । हामीसँग बहुमत कोरम छ, हामी बैठक सञ्चालन गर्छौं । सांसद पद जाने वा नजोन भन्ने कुरा मैले जान्दिनँ ।’

अधिकारले वर्तमान राजनीतिक परिस्थिति सुनाउँदै आधुनिक नेपालमा आफूहरुले पाँच वर्ष प्रधानमन्त्री भएको देख्न नपाएको सुनाए । उनले भने,‘चाहे विपी कोइराला हुन वा केपी ओली । हामीले पाँच वर्ष प्रधानमन्त्री भएको देख्न पाएनौं । हामीले पटक पटकको नाकाबन्दी सामना गर्दै आयौं । पछिल्लो पटकको नाकावन्दी सायद केपी ओली भएर नै सामाना गर्नुभयो । अहिलेपनि नेपाल आमा चिच्याईरहेकी छिन् । प्यारो धर्तीलाई बचाउनको लागि । हामी अघि बढिरहेका छौं ।’ अधिकारीले पार्टीको दुर्घटनाको सम्भावना छँदै थियो भन्ने टिप्पणी गरे । तर, दुर्घटना नहुनको लागि आफूहरुले भरपुर कोशिस गरेको सुनाए । तर, दुर्घटना टार्न नसकेको उनको भनाई छ ।

प्रतिनिधिसभा पूनःस्थापना भएपछि पनि सही ढंगले संसद् नचलेको उनको गुनासो छ । उनले भने,‘संविधानको धारा ११४ ले संसद् बसेकै दिन अध्यादेश टेबुल गर्नुपर्छ भन्छ । संसद बसेकै दिन टेबुल गर्नुपर्छ । तर, संसद् पूनःस्थापनाले अराजकता भयो । अध्यादेश टेबुल हुन दिईएन । सरकारले प्रस्तुत गरेका अध्यादेश डे वान मै प्रस्तुत हुन पाएन । अनि को हो त ? संविधानको परिपालना गर्ने ?’

उनले पार्टी विभाजन हुँदा खुशी हुनेपनि रहेको उल्लेख गर्दै एकतालाई जोगाउनको लागि सबै गम्भीर हुनुपर्ने बताए । तर, सिद्धान्तहीन एकता भने हुन नसक्ने उनको भनाई थियो । उनले भने,‘नीति, निष्ठाका साथ एकता हुनुपर्छ । हिजोको एकता त्रुटिपूर्ण रहेछ । भावनात्मक एकताले पनि त्रुटि रहेछ । नयाँ उचाईका साथ एकतालाई अघि बढाउनुपर्छ । संसदलाई कमजोर पार्ने काम जसले गरेको छ, त्यसको सही मुल्यांकन जनताले गरेका छन् । हामी सही ठाउँमा छौं । राष्ट्रिय एकताको लागि हामी एक छौं । ओलीलाई साधुवाद भन्छु । उहाँकै कारण एकता भएको थियो । केही साथीहरुलाई हिजोको ह्यांगओभर छ । तर, क्रान्तिकारीले धैर्यता गुमाउनुहुँदैन् ।’

उनले माधव नेपाल पक्षले ललितपुरमा आजबाट सुरु गरेको भेलालाई लक्षित गर्दै पार्टीले गुटगत भेला नगर्न भनेको सुनाए । तर, पार्टी अध्यक्ष र महासचिवले भेला नगर्न भनेपछि त्यो भेला गुट भएको पनि उनको टिप्पणी छ ।

उनले नेपाली प्यारो भूमिमाथि वैदेशिक हस्तक्षेप भैरहेको पनि दाबी गरे । र, आफूले त संसदमा संकल्प प्रस्ताव पनि पेश गरेको उनले स्मरण गराए । उनले देशको झण्डा माथि उठाउने काम गर्न सबैलाई आग्रह गरे । उनले आफ्नो पार्टीले देशभक्ति काम अघि बढाउने विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ