- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले २७ सदसीय संसदीय बोर्ड बनाएको छ । संसदीय दलको नेता बोर्डमा अध्यक्ष रहने एमाले संसदीय दलको विधानमा व्यवस्था छ भने बोर्डमा नेता माधव नेपाल र झलनाथ खनाललाई समेत मनोनयन गरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको कामकारवाही गर्ने गरी संसदीय बोर्ड बनाएको हो । बोर्डमा दलको उपनेता, राष्ट्रियसभा दलको नेता, संघीय संसदको प्रमुख सचेतक र सचेतक, राष्ट्रियसभाका प्रमुख सचेतक पदेन सदस्य रहन्छन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले दलको काम गर्ने अधिकार बोर्डलाई हुने र अन्य थुप्रै काम बोर्डको कार्यक्षेत्र भित्र पर्ने जानकारी दिए ।
‘दलको बैठक नबसेको अवस्थामा बोर्डले काम गर्न सक्छ, संसदीय बोर्ड वैधानिक व्यवस्था हो, यसका थुप्रै काम गर्न क्षेत्र छन्,’ एमाले संसदीय दलका उपनेता नेम्बाङले हाम्राकुरासँग भने । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बैठकले बोर्ड गठन गरेको हो ।
बैठकले पार्टीमा गुटगत भेला गरे कार्वाही गर्ने निर्णय पनि गरेको छ भने बैठक भन्दा बाहिर रहेकाहरुलाई आत्मालोचना गरेर बैठकमा सहभागी हुन आग्रह गर्ने निर्णय पनि गरेको छ । तर, बैठकको निणर्य नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
बैठकले पार्टीको विधान संसोधन गर्न कार्यदलसमेत गठन गरेको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठकमार्फत विधान संसोधन गर्न कार्यदल बनाएका हुन् । कार्यदलमा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल तोकिएका छन् ।