- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगन्ज मै पहिलो पटक औपचारिक कार्यक्रम गरेर एकै दिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ। बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले एकै दिन नेपालगन्जमा रहेको सनराज यातायात, नेपालगन्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलहरूमा क्युआर कोड हस्तान्तरण गरेको छ।
बुधवार आयोजित छुट्टाछुट्टै औपचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैङ्क, नेपालगन्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ती स्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन्।
उक्त क्युआर कोड सेवा सुरु भयसँगै नेपालगन्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरी सिधै आफ्नो बैङ्क खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगन्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरूको रकम समेत क्युआर कोड बाट भुक्तानी गर्न सक्नेछन्।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैङ्क खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैङ्कसम्म जानु नपर्ने लगायतका थुप्रै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्कले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैङ्किङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।