arrow

पहिला प्रोजेक्ट, अनि लगानी सम्मेलन : अध्यक्ष गोल्छा

महासङ्घको अन्तर्राष्ट्रिय लगानी प्रवर्धन समिति विस्तार

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
fncci-international-committee.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठुला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताएका छन्। हामीले त्यस्तो तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ। अव हामीले “रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ, अध्यक्ष गोल्छाले भने। 

देशमा लगानी सम्मेलन त भए तर केही ठुला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो। महासङ्घले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका यहाँ स्थित दूतावास हरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको भन्दै अध्यक्ष गोल्छाले हाम्रो प्रयास साँच्चीकै परिणाममुखी हुनुपर्छ महासङ्घ त्यसको तयारीमा रहेको पनि स्पष्ट पारे।

खास गरी विक्रम संवत् २०४६ सालको परिवर्तन पश्चात् मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका थिए तर विविध कारणबाट त्यो विस्तार भएर जान सकेन। नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन, समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ, अध्यक्ष गोल्छाले भने–नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरुरी छ।

बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको छ। अध्यक्ष गोल्छाले भने–बाह्य लगानी आकर्षणको अर्को महत्त्वपूर्ण पक्ष भनेको कन्ट्री रटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं। अर्को एकद्वारा प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिबद्धता आवश्यक देखिन्छ।

कोभिडकै कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको वेला कोभिड पश्चात् नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिले देखि नै गृह कार्य गर्न जरुरी छ। नेपाल उद्योग वाणिज्य महासङ्घको अन्तर्राष्ट्रिय लगानी प्रवर्धन समिति विस्तार कार्यक्रमलाई महासङ्घ सचिवालयमा संशोधन गर्दै अध्यक्ष गोल्छाले भने।

समितिले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासङ्घको सुझाव तयार गर्न शुभकामना दिए। समितिको कार्य क्षेत्र नै मुलुकभित्र अन्तर्राष्ट्रिय लगानी प्रवर्धन रहेकाले यसमा ठोस उपलब्धि हुने गरी समितिलाई केन्द्रित गर्न सुझाव दिए।

अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न पनि अध्यक्षले सुझाव दिए। उनले भने–भारत र चीनका यहाँ स्थित दूतावास हरूसँग समेत समन्वय गरेर गृहकार्य थाल्नुहोस्।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालायित छ भन्ने सन्देश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताए। वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासङ्घको सुझाव तयार गर्न समितिलाई सफलताको शुभ–कामना दिए।

महासङ्घको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ। समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समीर शर्मा, समीक्षा राई, दिलीप अग्रवाल र दीपिका श्रेष्ठ छन्। त्यसै गरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देश बन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त छन् भने आमन्त्रितहरूमा सन्दीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, सञ्जय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष् थपलिया, उज्ज्वल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशाल मणि उपाध्याय, मनोज पौडेल, शैवल घोष र रमेश अधिकारी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ